हामी सबैले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नैपर्छ : प्रधानमन्त्री

kp sharma

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्ने बताएका छन् । ‘उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रुपमा विश्व मानचित्रमा नेपाल उभ्भिनै सक्ने थिएन,’ २९७ औं पृथ्वी जयन्तिका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रुपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने पनि थिएन ।’

त्यसैले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उनले बताए । प्रधानमन्त्री ओलीले नेपाली जातिको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै शाहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । शुभकामना सन्देशमा भनिएको छ ‘उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, साास्कृतिक लगायतका अनेक विविधताका बीच मजबूत एकताको आधार तयार गर्नुभयो । अनेकताबीचको एकताको गौरवमय परम्पराको विजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो । आज अनेकता बीचको एकता नेपालको पहिचान बनेको छ ।’

Comments

Top