क्यामरुन टीम फाइनलमा, मनाङ मस्र्याङ्दी उपाधि यात्राबाट बाहिरियो

footbale

 पोखरा। लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी फुटबल क्लब पोखरामा उपाधि यात्राबाट बाहिरिएको छ । 

छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको पोखरा रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबसँग सडन डेथको शिकार बन्दै उपाधि विमुख बनेको हो । विजयी क्यामरुनी टिमले अब उपाधिका लागि आइतबार दिउँसो विभागीय एपीएफ टिमसँग फाइनल खेल्नेछ । जारी प्रतियोगितामा पछिल्ला ३ खेलको नतिजा टाइब्रेकरसम्म धकेलियो ।
शनिबारको निर्धारित ९० मिनेटको खेलमा दुवै टिमको १–१ को बराबरी भएपछि अतिरिक्त समयको खेलले पनि निर्णय नलिँदा खेल टाइब्रेकरमा पुगेको थियो ।
सडनडेथमा मनाङका बिमल रानाको प्रहार क्रसबार माथिबाट बाहिरिन पुग्नु नै दुर्भाग्य बन्यो । यसअघि मनाङकै सुरज बिकको बल बारमा लागेर रिवाउण्ड भएको थियो ।
टाइब्रेकरमा ४–४ को बराबरी भएकोमा जित हात पारेको डफिन्सको लागि वीलमको पहिलो प्रहार बाहिरिए पनि क्रमशः वीयीक, एक्वीम, सिलो मार्टिन्स, औरेल एनामी र क्याप्टेन जो एङ्गौलाको सुटआउट गोलमा परिणत भएको थियो ।
उता, मनाङका सुजल श्रेष्ठ, अञ्जन बिष्ट, कमल श्रेष्ठ र हेमन गुरुङको पेनाल्टी प्रहार सफल भएको थियो ।
प्रतियोगितामा पाहुना टोलीका अर्मेल अहन्दा म्यान अफ दी म्याच घोषित भए । उनलाई पूर्व मन्त्री एवं समाजसवी उत्तम पुनले ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरे । यस्तै पूर्व मन्त्री पुनले आयोजक एन्फा कास्कीलाई नगद ५० हजार प्रदान गर्ने घोषणा गरे ।
निर्धारित समयको ६६ औं मिनेटमा पाहुना टोलीले अग्रता लिएकोमा १५ मिनेट नबित्दै मनाङले बराबरी खेलेको थियो । मनाङका कमल श्रेष्ठले आफ्नै पोष्टमा आत्मघाती गोल गर्दा डफिन्सले उपहार गोल पाएको थियो ।
मनाङका लागि भने खेलको ८० औं मिनेटमा अञ्जन बिष्टको पासमा विदेशी खेलाडी अफिज ओलावालेले गरेका गरेका थिए ।
उपाधि नजिक पुगेको एपीएफले पहिलो सेमिफाइनलमा जापानको रिस्सो युनिभर्सिटीको टीमलाई टाइब्रेकरमा ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पाउने एन्फा कास्की अध्यक्ष मिलन गुरुङले जनाए । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगितामा ५ विधा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा १२ टिमको सहभागिता थियो ।

Comments

Top