दुई वर्ष जुनियरलाई बढुवा गरी आफूलाई छुटाइएको भन्दै एसपी उप्रेतीले दिए राजिनामा

sp narendra uprati and sp dipak thapa

   काठमाडौं । नेपाल प्रहरीको एसपीबाट एसएसपीमा हिजो (शनिबार) भएको बढुवामा छुटेपछि महानगरिय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन् । गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो ।

उक्त सिफारिसको सूचीमा सिनियर रहेका एसपी उप्रेतीको नाम परेन । तर, उप्रेती भन्दा ६ महिना जुनियर र कार्यक्षमतामा कमजोर मानिएका एसपी दिपक थापा भने एसएसपीमा बढुवा हुन सफल भएका छन् ।

एसपी उप्रेतीले आफूभन्दा जुनियरलाई बढुवा गरिएको र पदमा रहन नैतिकताले नदिएको भन्दै असन्तुष्ट जनाएर प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन्। उनले आफ्नो भविष्य नै अन्धकारमा धकेलिएको जिकिर गरेका छन् । एसपी दिपक थापाप्रति लक्षित गर्दै उनले भने –‘मभन्दा एक ब्याज जुनियरले बढुवा पाएका छन् । करियर नै समाप्त भएपछि कसरी संगठनमा रहन सकिन्छ ?’ ।

 २०७१ साल फागुन १० गते उप्रेती डिएसपीबाट एसपीमा बढुवा भएका हुन भने थापा २०७२ साउन ८ गते बढुवा भएका थिए। २०७१ सालमा उप्रेतीसँगै बढुवा भएका १७ जना एसपीहरुलाई बढुवा नदिएर जुनियर एसपी थापाको बढुवा भएपछि प्रहरी संगठनमा चरमा निराशा छाएको छ । 

 तिनै थापा २०७१ सालमा कार्यक्षमतामा कमजोर ठहरिएर बढुवामा नपरेपछि सामाजिक सन्जाल फेसबुकमा सतीले सरापेको देश भन्दै पोस्ट गरेर बढुवा समितीलाई गालीगलौज गरेका थिए। 

टेकप्रसाद तामाङ , भिम ढकाल र दीपक थापा एसपी उप्रेतीभन्दा जुनियर प्रहरी अधिकारी हुन्। त्यसो त २०४९ सालका नबराज भट्ट, उमाशंकर पन्जियार तथा  २०५१ सालमा प्रबेश गरेका भरत बोहरा, रबिन्द्र केसीलगायत १७ जनालाई पछाडि पारेर २०५२ सालका  थापा लगायत भिम ढकाल,टेक तामाङलाई बढुवा गरेर संगठनमा मुल्याङ्कनलाई धोती लगाइएको छ। 

 हाल अपराध महाशाखामा रहेका एसपी उप्रेतीले जघन्य प्रकृतिका दर्जनौं अपराधहरुको अनुसन्धान सफलतापूर्वक सम्पन्न गरेका छन् । उनले बारा, रसुवा, सिन्धुली, उदयपुरलगायतका जिल्लाको कमाण्ड सफलतापूर्वक सम्हालेका थिए ।

स्रोतका अनुसार एसपी उप्रेतीलाई बढुवा गरी एक वर्ष जुनियर दिपक थापालाई बढुवा नगर्न प्रहरी प्रधान कार्यालयमाथि ठूलो दबाब थियो । तर, एकाएक अन्तिममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहसचिव प्रेमकुमार राईलाई दबाब दिएपछि उप्रेतीको नाम काटेर थापाको नाम हालिएको थियो ।

प्रहरीको नियमावली अनुसार एसपीबाट एसएसपीमा बढुवा हुन चार वर्ष पुग्नु पर्ने प्रावधान थियो । तर, प्रचण्डलाई खुसी बनाउन नियमावली नै परिवर्तन गरी चार वर्षबाट तीन वर्षमा झारिएको छ । जुन सरासर गलत हो । एसपी थापा एकातिर कार्य क्षमता र कमाण्डमा असक्षम मानिन्छन् भने अर्कोतिर उनी ६ महिना जुनियर नै थिए ।

Comments

Top