प्रहरीले दिने सेवा शुद्ध र सुन्दर हुनुपर्नेमा आईजीपी खनालको जोड

igpkhanal1

 काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीले सेवाग्राहीलाई प्रदान गर्ने सेवा मन, वचन र कर्मले शुद्ध र सुन्दर हुनुपर्ने बताएका छन् ।

 प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित पश्चिम गेट, आगन्तुक कक्ष, नयाँ प्रशासनिक भवन तथा राष्ट्रिय वाणिज्य बैंकको नवनिर्मित एटिएमको उदघाटन तथा नवनिर्माण हुने अडिटोरियम हलको शिलान्यासका अवसरमा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा आईजीपी खनालले उक्त कुरा बताएका हुन् ।

 कूल २२ करोड ५४ लाख २१ हजार ३ सय २४ रुपैयाँ ५९ पैसाको लागतमा उक्त भवन निर्माण भएको छ । आईजीपी खनालले नवनिर्मित पश्चिम गेट, आगन्तुक कक्ष, नयाँ प्रशासनिक भवन, नवनिर्मित एटिएमको उद्घाटन समेत गरेका छन् । आईजीपी खनालले नवनिर्माण हुने अडिटोरियम हलको शिलान्याससमेत गरे ।

 सो अवसरमा आईजीपी खनालले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्तका साथै सुरक्षित हुनुपर्ने चर्चा गर्दै प्रहरी प्रधान कार्यालय बाहिर निर्माण हुने भवनहरुलाई समेत प्रेरित गर्न सक्ने हुनुपर्नेमा जोड दिए । नवनिर्मित भवनको भरपुर उपयोग हुनुपर्ने र यसले अपनत्व तथा भाइचारा विकासमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

 बहुआयामिक दृष्टिकोणले निर्माण हुन लागेको अडिटोरियम हल तोकिएकै समयमा गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्नेतर्फ निर्माण टोलीलाई अझै सजग रहन आग्रह गर्दै प्रहरी महानिरीक्षक खनालले बहुआयामिक हलको अभाव पूर्ति गर्न हलले सहयोग पुर्‍याउने चर्चा गरे ।

एटिएम राख्न राष्ट्रिय वाणिज्य वैंकको सहयोगप्रति आभार व्यक्त गर्दै प्रहरीको क्षमता विकास, प्रहरीलाई आधुनिक एवं प्रविधियुक्त बनाउने सन्दर्भमा वैंकको सदैव सहयोग मिल्ने अपेक्षा राखिएको खनालले उल्लेख गरे ।
प्रहरी प्रधान कार्यालय परिसरलाई आधुनिक एवम् व्यवस्थित बनाउनुका साथै सुरक्षित सेवा प्रवाह गर्ने हेतुले थप भौतिक पूर्वाधारहरु निर्माण गरिएको हो । नवनिर्मित प्रशासनिक भवनमा हाल अपराध अनुसन्धान एवम् कार्य विभाग र मानवश्रोत एवम् प्रशासन विभागका साथै सूचना प्रविधि निर्देशनालय समेतबाट कार्य संचालन भइरहेको छ ।

Comments

Top