पर्यटनमन्त्री अधिकारीसहित ७ जनालाई टुँडिखेलमा श्रद्धाञ्जली, प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए

antyasti

 काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी मृत्‍यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिने क्रम शुरु भएको छ ।

श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीको पार्थिव शरिरलाई काठको बाकसमा राखिएको छ ।

 मन्त्री अधिकारीलगायत अन्य दिवंगतहरुलाई श्रद्धाञ्जली दिन बिहानैदेखि सर्वसाधारण टुँडिखेलमा भेला भएका छन् । श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायतले  श्रद्धाञ्जली व्यक्त गरे । श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरे ।

 श्रद्धाञ्जलीपछि अन्त्यष्टिका लागि मृतकको शव आजै परिवारलाई बुझाउने बताइएको छ ।

 मन्त्री अधिकारीलाई गृह जिल्ला कास्कीमा लगेर अन्त्यष्टि गर्ने तयारी गरिएको छ । दुर्घटनामा मन्त्री अधिकारीसहित यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे र हेलिकप्टरका पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

Comments

Top