प्याराग्लाइडिङका कारण आज पनि एक जनाको मृत्यु, भोलीबाट बन्द, तीन वर्षमा तीन हजार प्रतिशत कर बढ्यो

paragliding

   पोखरा । विगत लामो समयदेखि पोखरामा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ । लगातार तीन दिन प्याराग्लाइडिङ दुर्घटनामा परेपछि सुरक्षामाथि नै गम्भिर चुनौती थपिएको छ ।

पोखरामा आज पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाका मृत्यु भएको हो । दुर्घटनामा परेका प्याराग्लाइडरको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार सरङ्कोटबाट उडेको केहिबेरमा नै उनी दुर्घटनामा परेका रसियन नागरिक विएमआइ जिभिआइएलको मृत्यु भएको हो।

पोखरामा लगातार तीन दिन प्याराग्लाइडिङ दुर्घटना भएको छ। यसअघि गत फागुन १९ गते रोमानियाका एक नागरिकले उडाएको प्याराग्लाइडिङ फेवातालमा खसेर उनको मृत्यु भएको थियो । त्यस्तै २० गते पनि कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा दुर्घटनामा परेका थिए ।

सो क्रममा २ जना विदेशी नागरिक घाइते भएका थिए। अनुमति लिएको भन्दा फरक ठाउँबाट उडान गरेका उनीहरु दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेका दुबैको हाल पोखरामै उपचार भइरहेको छ।

प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोल्यान्डका ३७ वर्षीय प्याराग्लाइडर जानुज क्यारल दुर्घटनामा परेका हुन्। उडानका क्रममा बिजुलीको तारमा ठोक्किएका ती पाइलटलाइ करेन्ट लाग्दा भुइँमा बजारिन पुगेका थिए। उनको बायाँ हात जलेको थियो। उनलाई स्थानीयले उद्दार गरी मणिपाल शिक्षण अस्पतालमा पुर्‍याएका थिए।

त्यस्तैगरी मादी गाउँपालिका–७, छा चोकमा ६३ वर्षीय रसियाली नागरिक इलगिज यागुदिन पनि उडानका क्रममा दुर्घटनामा परेका थिए। हावाको चापका कारण असन्तुलन भई यागुदिनको प्याराग्लाइडिङ रुखमा अल्झिएको थियो। स्थानीयको सहयोगमा उनलाई २ घन्टापछि उद्दार गरिएको थियो।

यसैबीच पोखरा महानगरपालिकाले बुधबारदेखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको छ । व्यावसायीले प्याराग्लाइडिङ उडान गरेबापतको कर नतिरेपछि महानगर र वडा कार्यालयले उडान नै बन्द गर्न लागेका हुन् ।

पोखरा महानगर र प्याराग्लाइडिङ उडान हुने वडा कार्यालयले करको विषयमा सम्बन्धित कम्पनीहरुलाई पत्र लेखेर कर बुझाउन आग्रह गरे पनि उनीहरुले अटेर गरेका कारण बाध्य भएर उडान बन्द गर्न लागिएको महानगर स्रोत बताउँछ । महानगरले गत पुस १९ गते नै सबै कम्पनीलाई अनिवार्य कर तिर्नु भनेर पत्रचार गरे पनि अझैसम्म कसैले पनि कर तिरेका छैनन् ।

त्यसैगरी वडा कार्यालयले पनि अन्तिम पटक फागुनको १५ गते पत्र लेखेर फागुनको २१ गते भित्र कर नबुझाए उडान रोक्ने चेतावनी दिंदा समेत वास्ता नगरेका कारण भोलिबाट उनीहरुले उडान भर्न नपाउने भएका हुन् ।

पोखरा महानगरपालिकाका अनुसार अहिले पोखराको आकाशमा ४० वटा कम्पनीबाट प्याराग्लाइडिङ उडान भइरहेका छ। नागरिक उड्ययन प्राधिकरण पोखरामा भने करिब ६० वटा कम्पनीहरुले उडान अनुमति लिइसकेको तथ्याङ्क छ। अहिले उडान गरिरहेका ४० कम्पनी मध्ये एउटा कम्पनीले मात्र कर तिरेको पोखरा महानगरपालिकाले जनाएको छ ।

अरु ३९ वटा कम्पनीले २०७२ सालबाट प्याराग्लाइडिङ उडानबापतको कर तिरेका छैनन् । राज्यलाई कर तिर्नेमा माउण्टेन भ्यू प्याराग्लाइडिङ रहेको छ । प्रत्येक कम्पनीले वार्षिक रुपमा एक लाख २५ हजार रुपैयाँ पर्यटन वापत कर तिर्नुपर्नेहुन्छ।

पाँच हजार कर तीन वर्षमा एक लाख ५० हजार पुग्याे
आर्थिक वर्ष २०७२–०७३ र २०७३–०७४ मा प्रत्येक कम्पनीले नेपाल सरकारलाई कर बापत जम्मा पाँचहजार पाँचसय रुपैयाँमात्र बुझाउँथे। पछि बढेर आर्थिक वर्ष २०७४–०७५ मा बढेर वार्षिक कर ५० हजार रुपैयाँ पुगेको थियो। त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा बढेर प्रदेश सरकारले पर्यटन शूल्क शिर्षकमा एकमुष्ट एक लाख २५ हजार रुपैँया बुझाउनुपर्ने नीति ल्याएको हो।

Comments

Top