विप्लवमाथि हतारमा प्रतिबन्ध लगाइयो : देवेन्द्र पौडेल

devendrapaudel

 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् ।

उनले अहिलेको सिजन र अवस्था भनेको शान्तिपूर्ण तवरले खुल्ला प्रतिष्पर्धामा आउनको निम्ति संविधाप्रदत्त अधिकारलाई अधिकतम प्रयोग गर्नुपर्ने भएको बताए ।

‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म पार्टीको बैठकमा राख्छु’, बुधबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा नेता पौडेलले भने, ‘तरपनि, म यति मात्रै भन्न चाहन्छु कि यी समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ । कुनैपनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्षले गर्नुहुँदैन ।’

नेता पौडेलले विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा राखे । उनले भने, ‘जनतामा जागरण ल्याउनुपर्छ भनेपनि संविधानअनुसार नै गर्नुपर्छ । त्योभन्दा अरु तरिका अपनाइयो भने त्यसले स्वयम उहाँ र उहाँको पार्टीलाई राम्रो गर्दैन ।’

उनले परिस्थ्तििलाई ठिक–ठिक ढंगले बुझ्नुपर्ने धारणा राखे । राज्यले समस्याको समाधान गर्न वार्ता, सम्वाद तथा सहमतिकै प्रक्रियाद्धारा गर्नुपर्ने उनको भनाई छ । ‘त्यसको लागि सरकारले अन्तिम र अधिकतम प्रयत्न गर्नुपर्छ । त्यो प्रयत्न गर्दागर्दै पनि राज्यले तोकेको विधि र प्रणालीविपरित एकपछि अर्को वार्ता तथा सहमति तोड्दै जाने काम भयो भने राज्यले त्यतिवेला आफ्नो स्टेप लिन सक्छ’, नेता पौडेलले भने ।

Comments

Top