विप्लव माओवादीविरुद्ध प्रहरीको गोप्य संयन्त्र

Nepal-police

 काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आपराधिक समूह ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाल प्रहरीले विप्लव समूहको गतिविधिविरुद्ध गोप्य संयन्त्र खटाएको छ । सरकारको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले मातहतका निकायहरुलाई सुरक्षा सावधानी अपनाउँदै विप्लवका सम्भावित गतिविधिमाथि निगरानी गर्न निर्देशन दिइसकेको छ ।

 प्रहरीको विशेष ब्यूरो, केन्द्रिय अनुसन्धान ब्यूरो(सिआईवी), अपराध महाशाखा जस्ता महत्वपूर्ण यूनिटहरुलाई विप्लव समूहका सक्रिय कार्यकर्ताहरुको बारेमा गोप्य जानकारी राख्न र आवश्यक परे पक्राउ गर्न समेत हेडक्वाटरले सर्कुलर नै जारी गरेको स्रोत बताउँछ ।

 स्रोतका अनुसार प्रहरीको गुप्तचरी यूनिट(सिआईडी) ले विशेष संयन्त्र नै बनाई विप्लव समूहका सक्रिय कार्यकर्ताको खोजी, गतिविधि र रणनीतिलाई पत्ता लगाउने कार्य शुरु गरिसकेको छ ।
प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले संविधान विपरीतका कार्य हुन नदिन सरकारको निर्देशन अनुसार प्रहरीले काम/कारबाही शुरु गरिसकेको बताए ।

 हिंसात्मक र आपराधिक गतिबिधि गर्ने छुट कसैलाई नभएको भन्दै एसएस्पी सुवेदीले त्यस्ता गतिबिधि गर्ने जोकोहीलाई प्रहरीले कारबाही गर्न कुनै कसर बाँकी नराख्ने बताए । सरकारले मंगलबार मात्रै विप्लव नेतृत्वको नेकपाका गतिबिधिलाई आपराधिक ठहर गर्दै त्यसलाई प्रतिवन्ध लगाउने गरेको थियो ।

 वार्तामा आउन पटक–पटक आग्रह गर्दा पनि वास्ता नगरी बम विस्फोट जस्ता हिंसात्मक गतिबिधि बढाएका कारण सरकारले पनि कडाई गर्ने निर्णय गरेको हो ।
विप्लव समूहद्धारा एनसेल कार्यालयमा गरिएको बम विस्फोटमा एक जना सर्वसाधरणको ज्यान गएको थियो भने बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गरिएको विस्फोटका क्रममा गाडी पूर्ण रुपमा ध्वस्त भई ठूलो क्षती भएको छ । यी दुई घटनापछि सरकारले विप्लवलाई वार्ताका लागि संयन्त्र खटाएको थियो ।

 तर, विप्लव समूहले वार्तामा आउन अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई कम्युनिष्ट नभई लुटेरा समूहको संज्ञा दिएका थिए ।
सरकाले विप्लव समूहको गतिविधिलाई प्रतिबन्ध लगाएपछि अब विप्लवको नेकपाले सार्वजनिक रुपमा सभा, जुलुस, संगठन विस्तार गर्न पाउने छैनन् । प्रहरीले पर्चा–पम्प्लेट वितरण, संगठन विस्तार, चन्दा संकलनलगायतमा संलग्न तथा सहयोग गर्ने व्यक्ति वा संस्थालाई समेत कारबाहीको दायरामा ल्याउने अधिकार पाएको छ । प्रहरी प्रधान कार्यालयले विप्लवसहित शीर्ष नेताहरुलाई देख्नासाथ पक्राउ गर्न निर्देशन दिइसकेको बताइएको छ ।
यता, सरकारले प्रतिवन्ध लगाएको केही समयमै विप्लव समूहले जवाफ स्वरुप भरतपुरको वडा कार्यालय शक्तिशाल बम विस्फोट गराएको छ भने भने सरकारको प्रतिकार गर्ने निर्णय गरेको छ । 

Comments

Top