देशभर विप्लव माओवादीको बन्दको प्रभाव, ठाउँ–ठाउँमा बम भेटियो, जन्ती बोकेको बस र ट्रक जलाइए

bus and truck

    काठमाडौं । सरकारले प्रतिवन्ध लागाएको विरोधमा आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । राजधानी काठमाडौंमा छिटपुट सावरीसाधन चलेपछि लामो दूरीका सवारी साधनहरु चल्न सकेका छैनन् । राजधानीमै पनि सार्वजनिक यातायातहरु कम मात्रामा चलेका छन् ।

विप्लव नेतृत्वको माओवादीले चन्दा बुधबार एक प्रेस विज्ञप्ति जारी गरी चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको र सरकारले लगाएको प्रतिवन्धको उत्तर स्वरुप नेपाल बन्दको अयोजना गरिएको जनाएको छ । बन्दका क्रममा विप्लव समूहले देशका विभिन्न स्थानमा बम विस्फोट गराएका छन् भने कैलालीमा जन्तीबसमा आगजनी गरेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान ४ बजे उनीहरुले आगजनी गरेका हुन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख ४४१ नम्बरको जन्तीको बाजा बोकेको बसमा उनीहरुले आगजनी गरेका हुन् । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिमिल्सिनाले स्कर्टिङ गरेर बसलाई ओहोरदोहोर गराइरहेको भएपनि उक्त बस भने ‘विहेको बस हो’ भन्दै प्रहरीलाई छलेर जाँदा घटना भएको जानकारी गराए ।

आगजनी गर्दा बसमा सवार सबैलाई बसबाट ओर्लिन लगाइएको थियो । एसपी तिमिल्सिनाका अनुसार आगजनीमा संलग्न रहेको आशंकामा विप्लव समूहका तीनजना कार्यकर्ता पक्राउ परेका छन् ।

यसैबीच, मकवानपुरको थाहा नगरपालिका–४, नयाँ गाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ । अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना५ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

मास्क लगाएको एक समूहले गुडिरहेको गाडी रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको ट्रकका चालकले बताए । ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ ।

घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने अनुमान गरिएको छ । तर अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छ । यसैबीच, हेटौंडाको औद्योगिक क्षेत्रनजिक भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।

शंकास्पद वस्तु भेटिएको सूचना पाएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले डेटोनेटरको सहायताले शंकास्पद वस्तु निस्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ ।

बन्दका क्रममा उदयपुरको कटारी नगरपालिका २ देवीधाप स्थित सडकमा शंकास्पद बस्तु भेटिएको छ। नेकपाले आव्हान गरेको नेपाल बन्दलाई प्रभाव पार्नेका लागि वम राखिएको हुन सक्ने बताइएको छ। मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ सप्लाई गर्ने शिवम मल्टिर्पस प्रालिको गेट अगाडी भेटिएको वस्तु बम भएको आशंका गरिएकाले नेपाली सेनाले डिस्पोजल टोली त्यहाँ पुगेको प्रहरीले जनाएको छ ।

डिस्पोजका लागि सेनाको वेलसोत स्थित कालिसिद्धि इन्जिनियरिङ गणको डिस्पोजल टोलीले पुगेको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ। विप्लव समूहले बन्दको अघिल्लो दिन हिजो नै राजधानीको आनामनगरमा समेत बम राखेका थिए ।

त्यसैगरी सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालिकानगरमा बम आशंका गरिएको शंकास्पद वस्तु फेला परेको छ । सडकमा राखिएको स्पीड ब्रेकरको छेउमा उक्त शंकास्पद वस्तु फेला परेको हो । नेपाली सेनाको टोलीले शंंकास्पद वस्तु डिस्पोज गरेको छ ।

त्यस्तै, पोखराको सभागृह चोकमा बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । चोकमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।


नेपाली सेनाले अहिले सवारी आवागमन रोकेर उक्त शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।बम कसले राख्यो भन्ने खुलेको छैन ।

तर, बिहीबार विप्लवले देशव्यापी बन्द गरेकाले त्यही समूहले राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । शंकास्पद वस्तु भेटिएपछि पोखराको सभागृह चोक वरपर त्रास फैलिएको छ ।

गोरखाका दुई स्थानमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । गोरखा नगरपालिका–६, भीआईपी टोल र वडा नम्बर १० को बाह्रकिलोमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले भने २ स्थानमा भेटिएका शंकास्पद वस्तु पोखराबाट आएको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको जानकारी दिए । शंकास्पद वस्तु फेला परेसँगै प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारेको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालीकानगरमा बिहीबार बिहान फेला परेको शंकास्पद वस्तु बम भएको पुष्टि भएको छ ।नेपाल बन्दको क्रममा बाल्टीमा कालो प्लाटिकले बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको थियो ।

बुटवल—भैरहवा सडक खण्डको कालीकानगरमा स्पिड ब्रेकरमा राखिएको उक्त शंकास्पद वस्तु ‘इन्प्रोभाइस एक्सप्लोसिभ डिभाइस’ ९बम० भएको डिस्पोजका क्रममा पत्ता लागेको हो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले विष्फोट गर्दा निकै ठूलो आवाज आएकाले उक्त वस्तु शक्तिशाली बम भएको पुष्टि भएको प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।


प्रहरीले बेलैमा सेनाको टोलीबाट डिस्पोज गराएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरी निरीक्षक केसीले बताए । बन्दका बेला यस्ता शंकास्पद वस्तु अन्यत्र पनि भेटिनसक्ने भएकाले त्यस्ता वस्तु नछुन र सुरक्षा निकायलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

लाखौं विद्यार्थीको पढाइ अवरुद्ध
नेकपाले आयोजना गरेको नेपाल बन्दले देशभरका शैक्षिक संस्थामा प्रभाव परेको छ । बन्दले देसभरका झण्डै ३५ हजारभन्दा बढी विद्यालयमा अध्ययनरत लाखौं विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ ।

शैक्षिकसत्र ०७५ को अन्त्यतिर अन्तिम परीक्षाको तयारीमा रहेका विद्यालय र परीक्षासमेत सञ्चालन गरिरहेका विद्यालयहरूले बन्द आह्वानका कारण बीचमै विद्यालय बन्द गर्नुपरेको प्याब्सनले जनाएको छ ।

Comments

Top