विप्लव माओवादीलाई सरकारको ३५ दिने अल्टिमेटम

gokul

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको पनि बताए ।

विप्लव समूहले आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उसका त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले भने–‘वार्ताका लागि रातो कार्पेट ओछ्याएरै बिन्ती गर्छौं तर उहाँहरुको अडान हेर्दा त्यस्तो देखिएन र सरकार यो निर्णयमा पुगेको हो ।’

उनले वार्ताका लागि पटक–पटक तयार भए पनि वार्तामा नआएको सो समूहका गतिविधिलाई सरकारले सूक्ष्मरुपमा अध्ययन गरी त्यसका आधारमा पार्टीलाई नभई समूहका हिंसात्मक र सङ्गठित प्रकारका आपराधिक र संविधानविरीतका गतिविधिलाई प्रतिबन्ध लगाइएको स्पष्ट गरे ।
पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने–‘सिके राउत मूलधारमा आउनुभयो । सरकारले स्वागत गर्‍यो । भोलि विप्लव समूह पनि आएमा सरकारले स्वागत गर्छ ।’

 

Comments

Top