गण्डकी मेडिकल कलेज प्रकरण : विपक्षीको नाउँमा निषेधाज्ञा जारी गर्नु नपर्ने अदालतको आदेश

gmcn

 विजय नेपाल/पोखरा। गण्डकी मेडिकल कलेज, पोखराको प्रकरणको विषयलाई लिएर उच्च अदालत पोखरामा दायर रिटमा अदालतले विपक्षीको नाउँमा निषेधाज्ञा जारी गर्नु नपर्ने आदेश दिएको छ ।

वादी/प्रतिवादीतर्फबाट दुई दिनसम्म भएको बहसमा अदालतका मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश रामचन्द्र यादवको संयुक्त इजलासले विपक्षीको नाउँमा विहीवार निषेधाज्ञा जारी गर्नु नपर्ने आदेश दिएको हो ।
अदालतले पक्राउ पुर्जी काटेपछि फरार रहेकै अवस्थामा कलेज अध्यक्ष खुमा अर्यालले वारेस दीपा अधिकारीमार्फत गत २३ फागुनमा उच्च अदालत पोखरामा निशेधाज्ञाको माग गर्दै रिट दायर गरेका थिए । रिटमा जिल्ला अदालत कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला अदालत कास्कीलाई विपक्षी बनाइएको थियो ।

 सो आदेशमा ‘निवेदक उपर फागुन २१ एवं सो पश्चात समेत ठगी सम्बन्धी अपराधको किटानी जाहेरी परेको देखिन्छ । जाहेरवालाले उल्लेख गरेका प्रतिवादीहरु मध्येका लक्ष्मण शर्मा एवं सन्तोष खनाल उपर अदालतको अनुमतिले पक्राउ पुर्जी जारी भएको एवं निवेदकहरु समेत उपर पक्राउ पुर्जी जारी गर्न कास्की जिल्ला अदालतबाट फागुन २३ मा अनुमति प्राप्त भएको समेतको स्थितिमा निवेदकहरुकोमा आधात पर्ने आशंकाको विद्यमानता भएको भन्ने देखिँदैन ।

 निवेदकहरुको माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । कानुन बमोजिम गर्नू’ भन्ने लेखिएको छ ।
सो रिटमा विहीवार निवेदकतर्फबाट अधिवक्ता पूर्ण राजवंशी र विपक्षीको तर्फबाट उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता नरेन्द्रबहादुर चन्द, उपन्यायाधिवक्ता खेमराज पाठक एवं विपक्षी अनित सिन्हा, अंकित शर्मा, सम्राट पराजुलीको तर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, अधिवक्ता भगवती पहारी, अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका थिए ।

 त्यसअघि, पहिलो दिन बुधबार निवेदकतर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु श्रेष्ठ, रमण श्रेष्ठ, अधिवक्ता पूर्ण राजवंशी र दीपक शर्माले बहस गरेका थिए भने विपक्षीका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका थिए ।
विद्यार्थीहरुले कलेजका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धिकरण विभाग र जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकोमा ठगी मुद्दामा मेडिकल कलेजका संचालक खुमा अर्याल, रवीन्द्र श्रेष्ठ, कृष्ण राज घिमिरे, युवराज शर्मा, दिनेश पौडेल, हरि ढुंगानालगायतलाई पक्राउ पुर्जी जारी गरेकोमा उनीहरु फरार छन् ।

 कलेजका पूर्वी सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा भने सात दिनदेखि प्रहरी हिरासतमै छन् ।
कलेजको एमबीबीएस तहमा अध्ययन विद्यार्थीहरु कलेजले चर्को शुल्क लिएको भन्दै ४५ दिनदेखि आन्दोलित छन् । विद्यार्थीहरु यस विषयलाई लिएर रिले अनसन समेत बसेका थिए ।
कतिपय सेमेष्टरमा त्रिविले परीक्षाको मितिसमेत तोकिसकेको छ । केही विद्यार्थीले परीक्षा फारामसमेत भरेका छैनन् ।

 दैनिक ६ देखि १ हजार जना बिरामीको उपचार गर्ने मेडिकल कलेज ठप्प हुँदा यतिखेर बिरामी अन्यत्र जान बाध्य छन् ।
विद्यार्थीले सञ्चालकविरुद्ध ५३ करोड रुपैयाँ ठगीको उजुरी दर्ता गराएका हुन् ।

 

Comments

Top