न्यूजिल्याण्डमा गोली चल्याे , बालबालिकासहित कम्तिमा २७ जनाको मृत्यु

attack7

  काठमाडौं । न्यूजिल्याण्डको दुई वटा मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ । क्राइस्टचर्चमा अवस्थित मस्जिदमा अन्धाधुन्द गोली प्रहार हुँदा ‘धेरै हताहत’ भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

डेली मेलका अनुसार यो घटनामा बालबालिकासहित कम्तिमा २७ जनाको मृत्यु भएको छ ।

मस्जिदमा आज जुमेको नमाज थियो । त्यही बेला आक्रमण भएको हो । थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ ।

प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन् । उनले आक्रमणमा आप्रवासी र शरणार्थीहरुको संलग्नता रहेको आशंका गर्दै उनीहरुलाई पक्राउ गर्ने संकेत दिएकी छन् ।

प्रहरी कमिश्नर माइक बुशका अनुसार एक आक्रमणकारी पक्राउ परेका छन् । उनका अनुसार घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता भए–नभएको खुलेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

डेली मेलका अनुसार यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ति व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेको भिडियो फुटेजमा देख्न सकिन्छ ।

आक्रमणपूर्व उनले ‘लेट्स पाटी स्टार्टस्’ भनेका छन् । उनले कारमा कम्तिमा ६ वटा राइफल राखेको डेलीमेलको दाबी छ । उनले आक्रमणमा प्रयोग गरेको राइफलमा बिभिन्न व्यक्तिहरुको नाम उल्लेख छ ।

न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु भने सुरक्षित छन् ।

 

Comments

Top