प्रहरीको पनि दुई तहमा समायोजन

Nepal-police

    काठमाडौं । निजामती सेवाका कर्मचारीको तीन तहमा समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेपछि सरकारले नेपाल प्रहरीलाई दुई तहको संरचनामा समायोजन गर्ने तयारी गरेको छ । ७० हजार हाराहारी रहेको नेपाल प्रहरीको समायोजन प्रक्रिया अघि बढाउन लागेको हो ।

प्रहरी कर्मचारीहरू संघ सरकारमातहत रहने नेपाल प्रहरी तथा प्रदेश सरकारमातहत रहने प्रदेश प्रहरीमा समायोजन हुनेछन् । गृह मन्त्रालयले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराइसकेको छ । संसदबाट उक्त विधेयक पारित भएपछि समायोजन सुरु हुनेछ ।

केन्द्र तथा प्रदेश प्रहरीको संगठन संरचना तथा दरबन्दी नेपाल सरकारले निर्धारण गर्नेछ । गृहसचिव संयोजक रहने संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिमा प्रदेश सरकारका तर्फबाट कसैको प्रतिनिधित्व गराइएको छैन । समितिमा नेपाल प्रहरीका एकजना अतिरिक्त प्रहरी महानिरीक्षक, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालय तथा गृहकै एक–एक जना सहसचिव सदस्य रहने व्यवस्था विधेयकमा गरिएको छ ।

उक्त समितिले संघ वा प्रदेशको शान्ति सुरक्षा तथा व्यवस्थापनका लागि गर्नुपर्ने कार्य र औचित्यको अध्ययन गर्नेछ । सोही आधारमा नेपाल प्रहरी तथा प्रदेश प्रहरीको संगठन र दरबन्दी निर्धारण गरी सर्वेक्षण प्रतिवेदन तयार गर्ने विधेयकमा उल्लेख छ ।

Comments

Top