विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको छैन : नेपाली सेना

nepali sena

   काठमाडौं । नेपाली सेनाले प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीविरुद्ध सेना परिचालन नभएको स्पष्टोक्ति गरेको छ । विभिन्न सञ्चारमाध्यमहरुमा कालीकोटलगायतका जिल्लामा विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचारहरु आएपछि सेनाले आज विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि आधिकारीक स्रोतले दिएको औपचारिक विभिन्न सैनिक स्रोतको हवला दिंदै केही सञ्चार माध्यमहरुले नेपाली सेना सम्बन्धि गरेका विभिन्न भ्रामक र कपोकल्पित टिकाटिप्पणीहरुप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली सेना अहिले पूर्वनिर्धारित तालिम, सैन्य अभ्यास र स्वास्थ्य शिविरमा केन्द्रित रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ । सेनाको विज्ञप्तिमा भनिएको छ–‘वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्वनिर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा यस्ता समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेना आग्रह गर्दछ ।’

त्यसैगरी ‘नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग छ । सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँदछौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।

Comments

Top