साफ वुमेन्स च्याम्पियनसिप नेपालका लागि इतिहास रच्ने अवसर

nepali team

   विराटनगर । विराटनगरको सहिद रंगशालामा साफ वुमेन्स च्याम्पियनसिप जारी छ । आजको फाइनल खेलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् । भारत तीन पटकको विजेता टिम हो भने नेपाल उपविजेता । नेपाली महिला फुटबलर डिफेन्डिङ च्याम्पियन भारतलाई हराएर उपाधि चुमेर इतिहास रच्ने अवसरको खोजीमा छन् ।

पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य लिएको नेपाल डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा भिड्दै छ ।

नेपाली महिला टिमका लागि घरेलु भूमिमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । खेलाडीलाई घरेलु मैदान र दर्शकको साथ छ । नेपाली टिममा सावित्रा भण्डारी छिन र पनि आश जगाएको छ । साफका तीनै खेलमा गोल गरेकी भण्डारी दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मानिन्छिन् । कप्तान निरु थापा पनि प्राविधिक रूपमा अहिलेको टिम उत्कृष्ट रहेको बताउँछिन् ।

विंगर अनिता बस्नेत, मिडफिल्डर रेनुका नगरकोटे र डिफेन्डर गीता राना, हिराकुमारी भुजेल उत्कृष्ट लयमा छन् । तर, नेपालका लागि भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न त्यति सजिलो भने पक्कै छैन । छिमेकी भारत चिरपरिचित प्रतिद्वन्द्वी हो ।

९ वर्षयता टिममा रहेर चौथोपल्ट साफको फाइनल खेल्न लागेकी कप्तान थापा भन्छिन्–‘पहिला भारत भन्नेबित्तिकै खेल्नुअघि नै डर लाग्थ्यो । अबचाहिँ खेल्यौं भने सक्छौं भन्ने आँट आएको छ ।’

साफमा सुरुका तीन संस्करण (२०१०, २०१२, २०१४), सागमा दुईपल्ट (२०१०, २०१६) र हिरो गोल्डकप (२०१९) को फाइनलमा नेपाल चुकेको थियो । हिरो गोल्डकपबाहेक सबै फाइनलमा नेपाललाई भारतले निराश पारेको थियो । भारत साफ वुमेन्स च्याम्पियनसिपको नौ वर्षे इतिहासमा कहिल्यै हारेको छैन ।

प्रशिक्षक हरी खड्का पनि नेपाली टिमले इतिहास रच्ने बताउँछन् । उनी भन्छन्–‘नेपालका लागि इतिहास रच्ने दिन हो, दबाब अवश्य हुन्छ । भारत हामीभन्दा राम्रो टिम हो । हामीले जित्ने टेक्निकल, ट्याक्टिकल पक्षभन्दा मिहिनेतले नै हो । जुझारुपन हाम्रो सबैभन्दा बलियो पक्ष हो ।’

फिफा वरीयतामा पनि नेपालभन्दा भारतीय टिम ४६ स्थान माथि छ । साग २०१० र साफ २०१२ को फाइनलमा अग्रता लिएर पनि नेपाल पराजित भएको थियो ।

नेपाल समूह चरणमा भुटान र बंगलादेशलाई समान ३–० र सेमिफाइनलमा श्रीलंकालाई ४–० ले हराएर साफमा चौथोपल्ट फाइनलमा प्रवेश गरेको हो । भारतले सेमिफाइनलमा बंगलादेशलाई ४–०, समूह चरणमा माल्दिभ्सलाई ६–० र श्रीलंकालाई ५–० ले हराएको थियो ।

Comments

Top