एसपी विष्टलाई साढे १० लाख धरौटीमा छाड्न आदेश

sp bista

    कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा प्रमाण नष्ट गरेको र यातना अभियोग लागेका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

एसपी विष्टलाई जिल्ला अदालत कञ्चनपुरले आइतबार साढे १० लाखमा धरौटीमा छाड्न आदेश भएको हो । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यातना कसुरमा ६ लाख र प्रमाण नष्टमा साढे ४ लाख धरौटीमा छाड्न आदेश गरेको जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए ।

गत मंगलबार अदालतमा उपस्थित भएका विष्टको बुधबार र शुक्रबार थुनछेक बहस भएको थियो । यसअघि अदालतमा उपस्थित भएका ६ प्रहरीलाई पनि धरौटीमै छाड्न आदेश दिएको थियो ।

यातना र प्रमाण नष्टको अभियोग लागेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन डिएसपी अंगुर जिसी भने अझै अदालतमा उपस्थित भएका छैनन् । फागुन २२ गते जिल्ला सरकारी वकिलको कार्यालयले यातना र प्रमाण नष्टको मुद्दा अदालतमा दायर गरेको थियो । यस अघि यहि अभियोग लागेका ६ जना प्रहरीहरु भने धरौटीमा नै रिहा भइसकेका छन् ।

Comments

Top