विप्लव समूहलाई कुनै पनि सहयोग नर्गन गृह मन्त्रालयको निर्देशन, सहयोग गर्नेमाथि पनि कारबाही गरिने

griha man

   काठमाडौं । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित समहूलाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरुमाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ । जबरजस्ती आर्थिक सहयोग मागे तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्दै गृह मन्त्रालयले कुनै पनि सहयोग नगर्न सूचना जारी गरेको छ ।

मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस्ता समूहहरुलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन हुन अनुरोध छ ।’

सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्रतिबन्ध लगाएको दुई साता वित्न नपाउँदै विप्लव समूहका शीर्ष नेता मध्येका एक हेमन्तप्रकाश वली सुदर्शन काभ्रेबाट पक्राउ परेका छन् । उनीसहित ८ जना पक्राउ परेका हुन् ।

त्यसको भोलिपल्ट आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विप्लव समूहको आपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न र सहयोग गर्ने व्यक्ति, संस्था वा समूहलाई समेत प्रचलित कानूनअनुसार कारबाही हुने प्रष्ट पारेको हो ।

Comments

Top