सरकार नै संविधान उल्लंघनको बाटोमा

pm office

   नेपाली कांग्रेसका सभापति एवम् तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानलाई लुछ्ने क्रम बढ्न थालेको छ । संविधानको रक्षा गर्ने जिम्मेवारी लिएका प्रधानमन्त्री केपी शर्मा ओली नै संविधान उल्लंघनमा लागेको देखिएपछि जनता निराश बन्न थालेका छन् ।

ओलीले एकपछि अर्को गैर संविधानका क्रियाकलाप गरेका छन् । दुई तिहाइ सरकारको दम्भका कारण ओलीले संविधान उल्लंघन गर्दै आएका हुन् । नेपाली कांग्रेस विपक्षी दलको भूमिकामा कमजोर मानिएको छ ।

कांग्रेसकै नेताहरूले समेत संसदमा पार्टीले सशक्त प्रतिपक्षको भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको छ । कांग्रेस आकारमा सानो रहेको र कमजोर भएको भन्दै ओलीले पटक–पटक संविधान उल्लंघन गर्दै आएका हुन् ।

संविधान प्रधानमन्त्री ओलीकै कारण ठूलो संकटमा परेको छ । संबैधानिक आयोगहरुमा भएका नियुक्ति, प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत राख्नुपर्नेमा संघको गृह मन्त्रालय अन्तर्गत राखिएको तथा न्यायिक छानबिनमा रहेका दिनेशचन्द्र थपलियालाई प्रमुख प्रतिपक्षी दलको सहमति विनै प्रमुख निर्वाचन आयुक्तमा सिफारिसलगायतका कार्यले पनि प्रधानमन्त्री ओलीलाई विवादमा तानेको छ । 

नेपाली कांग्रेसको अहिलेको दायित्व भनेको आफ्नो नेतृत्वमा बनेको संविधानको रक्षा गर्नु हो । कांग्रेसले संविधानको रक्षा गरेन भने कम्युनिस्टहरूले संविधानको संरक्षण गर्दैनन् । उनीहरूले सकेसम्म संविधानलाई विफल बनाएर आफ्नो उदेश्या पूरा गर्न चाहेका छन् ।

यस्तो अवस्थामा नेपाली कांग्रेसले आफूलाई सशक्त प्रतिपक्षका रुपमा अगाडि बढाउनुपर्छ छ । ओलीका हरेक गतिविधिलाई कांग्रेसले रोक्नुपर्छ । नियन्त्रण गर्नेभन्दा पनि कांग्रेसले ओलीलाई सचेत गराउनुपर्छ । आवश्यक प¥यो भने कांग्रेसले सडक आन्दोलन गर्नसम्म पछि पर्नु हुँदैन ।

कांग्रेसको सदासयतालाई कम्युनिस्टहरूले कमजोरीका रुपमा लिएका छन् । उनीहरूले कांग्रेसलाई हेपेकै कारण संविधान उल्लंघनका घटना बढ्न थालेका हुन् । कांग्रेसले अब आफूलाई सुधार गरेर सशक्त प्रतिपक्षमा उभ्याउनु पर्छ ।
वर्तमान सरकारबाट आजित बनेका सर्वसाधारणले कांग्रेसलाई बिकल्पका रुपमा हेर्ने अवस्था सृजना भएको छ । कम्युनिस्ट पार्टी परित्याग गरेर कांग्रेसमा धमाधम प्रवेश गरिरहेका छन् ।

तर, कांग्रेसका नेताहरूले आफूलाई सुधार गर्नु आवश्यक छ । त्यति मात्रै होइन वर्तमान सरकारले पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्नुपर्छ । लामो संघर्षपछि आएको गणतन्त्रलाई बचाउने दायित्व हामी सबैको हो ।

Comments

Top