प्रधानमन्त्रीप्रति आक्रोश जनाउँदै विप्लवले सार्वजनिक गरे बिरोधका कार्यक्रम

biplab

 काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाद्वारा घोषित विरोध कार्यक्रमको मुख्य निशाना प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाइएको छ ।

 विप्लवले प्रतिबन्धविरुद्ध चैत २६ गतेदेखि २९ गतेसम्म प्रतिवन्धविरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस र वैशाख ५ गते नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेका छन् ।

त्यस्तै वैशाख ६ गतेदेखि प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा अवरोध गर्ने र सहभागी हुन प्रतिबन्ध लगाउने घोषणासमेत विप्लवले विज्ञप्तिमार्फत जनाएका छन् ।

सोमबार महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । विप्लवले वैशाख ६ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने सबै कार्यक्रमलाई विथोल्नेसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

‘ओली सरकार र रामबहादुर थापा गृह प्रशासनको हाम्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापविरुद्ध पागलपूर्ण राजनैतिक बकवास, फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।’

विप्लवले नेकपाले क्रान्तिलाई अगाडि बढाइरहेको भन्दै नजिस्क्याउन समेत चेतावनी दिएका छन् । उनले शान्ति, वार्ता र सम्झौताका नाममा देश, देश जनता र क्रान्तिलाई धोका भएको भन्दै प्रतिवाद गर्ने समेत चेतावनी दिएका छन् ।

पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सहितका नेता कार्यकर्तालाई फागुन २८ गतेदेखि पक्राउ गरी झुटा मुद्दा लगाएर फसाएको आरोप समेत विप्लवले लगाएका छन् ।

Comments

Top