राष्ट्रिय सहमतिबाट मात्रै समृद्धिको यात्रामा जान सकिन्छ : अध्यक्ष प्रचण्ड

jems-worldचितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय सहमतिबाट मात्रै समृद्धिको यात्रामा जान सकिने बताएका छन् ।

 चितवनको भरतपुरमा २५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको जेम्स वल्र्ड फनपार्कको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्डले चितवनमा देशकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने क्रममा रहेको तथा व्यवस्थित र देशकै ठूलो फनपार्क सञ्चालनमा आएको बताए ।

 चितवनले विस्तारै थुप्रै रेकर्डहरु राख्ने र त्यो रेकर्ड नेपालले पनि बनाउँदै सभ्यता, संस्कृति र समृद्धिको नयाँ युग बनाउने प्रचण्डको भनाइ छ । राष्ट्रिय सहमतिले मात्रै ठूला ठूला आन्दोलन तथा शान्ति सम्झौता भएकाले आम नेपालीले खोजेको विकास र समृद्धिको एजेन्डामा समेत राष्ट्रिय सहमति आवश्यक रहेको प्रचण्डले बताए ।

सो कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले राजनीतिक सङ्क्रमणको अन्त्य भएर नेपाल विकास र समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहकार्यमा अगाडि बढ्नुपर्ने बताए । समृद्धिका लागि मुलुकमा विकास निर्माणका कामहरुले प्राथमिकता पाउनुपर्नेमा जोड दिँदै कोइरालाले नेपाली काँग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका खेल्न चाहेको बताए ।

भेटघाट ग्रुपको प्रवद्र्धन तथा अन्य ६५ जना व्यक्तिको लगानीमा तीन बिघाहा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा एकै साथ साढे चार हजार जनाले घुम्न सक्ने बताइएको छ । पानीमा खेल्ने खेल, मिनी रेल, स्कुटर राइड, डाइनोसर, ह्याङपोलिङ, स्लाइड, रक क्लाम्बिङ, वाल क्लाम्बिङलगायतका सय भन्दा बढी खेल राखिएको पार्कमा ८४ जना व्यक्तिले प्रत्यक्ष रुपमा रोजगार पाएका जेम्स वर्ल्ड फनपार्कका प्रबन्ध निर्देशक महेश तिवारीले बताए ।

 

Comments

Top