नयाँ वर्षको पहिलो दिन : १२ घण्टा वित्न नपाउँदै दुर्घटनामा परी ७ जनाको मृत्यु, झण्डै तीन दर्जन घाइते

plane crash

   काठमाडौं । आज बैशाख १ गते, अर्थात वि.सं. २०७६ सालको पहिलो दिन । शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाईंदै छ । तर, पहिले दिनको १२ घण्टा पनि वित्न नपाउँदै छुट्टा छुटेटै स्थानमा भएको दुर्घटनामा परी सात जनाको मृत्यु भइसकेको छ झण्डै तीन दर्जन व्यक्ति घाइते भएका छन् ।

नयाँ वर्षको शुरुवातमा नै हवाइजहाज र बस समेत दुर्घटनामा परेको हो ।

सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।

लुक्लाबाट रामेछाप आउनका लागि समिट एयरको जहाजले टेकअप लिन खोज्दा आइतबार बिहान लुक्ला विमानस्थलमा पार्किङ्मामा रहेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्किदा हेलिकप्टरका क्याप्टेन र ड्युटीमा रहेका २ प्रहरीको मृत्यु भएको हो । जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन्।  सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले कोपाइलट र प्रहरीको मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेहरुमा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का छन् ।

अन्य ३ जना अवस्था गम्भीर रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिएका छन् । घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।

त्यस्तै आज एकाविहानै सर्लाहीको लालबन्दी नगरपालिका–१ बगवानीमा बस पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत बगवानीको जंगलमा बा३ख १३१८ नम्बरको बस पल्टिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले पुष्टि गरेको छ।

उक्त बस काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको थियो। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरुमा सुनसरी र मोरङका अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरी छन्।

घाइते ३१ घाइते ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको विराटनगरमा उपचार भइरहेको तथा सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Comments

Top