मितव्ययी ढंगले चाडपर्व मनाउन प्रधानमन्त्री ओलीको आग्रह

kp sharma

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउन आह्वान गरेका छन् । सिरुवा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्–‘नेपालीहरुलाई विविधताभित्र एकतामा बाँध्ने एउटा महत्वपूर्ण सूत्र यस्तै चाडपर्वहरु पनि हुन् । हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढंगले मनाउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले सिरुवा पर्व मनाउने समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।

नयाँ वर्षको रुपमा मनाइने सिरुवा पर्व तीन दिनसम्म मनाउने चलन छ । नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरेर ‘पानी सिरुवा’ मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर ‘कादो सिरुवा’ मनाउने गरिन्छ । तेस्रो दिनआपसमा रंग दलेर ‘रंग सिरुवा’ मनाउने गरिन्छ । यी तीन दिनमध्ये दोस्रो अर्थात ‘कादो सिरुवा’ लोकप्रिय मानिन्छ ।

पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातीहरुले सिरुवा पर्व मनाउँछन् ।

Comments

Top