नेपालको दोस्रो जित, तर विश्वकपमा पुग्ने सम्भावना कठिन

nepal

  काठमाडौं । मलेसियामा जारी आइसीसी यू–१९ विश्वकप छनोटमा नेपालले दोस्रो जित हात पारेको छ। सोमवार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गरेको हो।

मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा ओपनर रित गौतमले नटआउट ३९ रन बनाए। त्यसअघि स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिएपछि मलेसिया ९२ रननै अलआउट भएको थियो। पवन सर्राफले ३ विकेट लिनुका साथै १९ रन जोडे।

आजै भएको अर्को खेलमा युएईले कुवेतलाई ७ विकेटले पराजित गरेको छ। लगातार तेस्रो जितपछि युएई ६ अंकका साथ अंकतालिकामा शीर्ष स्थानमा छ। नेपाल दुई जित र एक हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदा ४ अंक नै रहेको कुवेत तेस्रो स्थानमा छ।

६ टोली सहभागि छनोटबाट शीर्ष स्थानमा रहने एक टिम मात्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपमा छनोट हुनेछ। त्यसैले छनोटको प्रत्येक खेल महत्वपूर्ण छ। एक खेल हारिसकेको नेपालको लागि विश्वकप पुग्ने सम्भावना युएईसँग हारपछि केही कमजोर बनिसकेको छ।

नेपालले अब कुवेत र ओमानसँग खेल्न बाँकी छ भने युएईले ओमान र सिंगापुरसँग खेल्न बाँकी छ। नेपाल भन्दा युएईको २ अंक बढि छ। त्यसैले नेपालले विश्वकपमा स्थान बनाउन आफ्नो बाँकी दुवै खेल जित्नुपर्ने छ भने युएईले एक खेल हार्नै पर्नेछ।

तर, युएईका लागि ओमान र सिंगापुर तुलनात्मक रुपमा कमजोर टोली मानिन्छन् । नेपालका लागि ब्याडलक नै भन्नुपर्छ पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा भने वर्षा बाधक बनेपछि यूएईसँग डिएल मेथोडमा एक रनले पराजित भएको थियो ।

Comments

Top