स्केट बोर्डप्रति राज्यको आँखा अझै खुल्न सकेको छैन

एक्सन स्पोट्र्सको रुपमा लिइने स्केट बोर्ड खेल पछिल्लो समय युवा पुस्ताहरुमाँझ लोकप्रिय बन्दै गएको छ । एक पटकमा एक जना मात्र खेल्न सकिने यो खेलमा शरीरको सन्तुलन र कलाको मुख्य भूमिका रहने बताउँछन् स्केट बोर्डका प्रोफेशनल खेलाडी रामचन्द्र कोइराला । युवा व्यवसायी कोइराला सुन्दर नगरी पोखराको पर्यटकीय गन्तव्य लेकसाइडको डिहिको पाटनमा जन्मिएर पोखरालाई नै कर्मथलो बनाएर जीवन संघर्ष यात्रामा छन् । निर्माण व्यवसायी गणेशप्रसाद कोइरालाका चार छोरामध्ये कान्छा छोरा रामचन्द्रले बाबुको विडो सम्हाल्दै निर्माण व्यवसायलाई अंगालेका छन् । करिव साँढे तीन दशकको वर्षमा हिडिरहेका कोइराला आफ्नो मुल पेशा निर्माण व्यवसाय भए पनि स्वास्थ्य जीवन जिउने आधार बनेको खेललाई सँग–सँगै लगेको बताउँछन् । नेपालमा स्केट बोर्डको खेल भित्र्याउने प्रोफेशनल खेलाडी हुन कोइराला । उनले स्केट बोर्डको सञ्चालन र प्रवद्र्दनमा आफ्नो जीवन नै समर्पित गरेका छन् । नेपालको सन्दर्भमा नयाँ आयाम भित्र्याएका उनै रामचन्द्र कोइरालासँग गरिएको कुराकानी : रामचन्द्र कोइराला, स्केट खेलाडी एवम् युवा व्यवसायी ० स्केट बोर्ड कस्तो खेल हो र कसरी खेलिन्छ ? – स्केट बोर्ड विश्वको पछिल्लो मध्यको खेल हो । यो खेल एक प्रकारको एक्सन स्पोट्र्स हो । यो खेल सिंगल मेन खेलिने खेल हो । चार वटा पाङ्ग्रा जडान गरिएका बोर्डमा चढेर गुडाउँदै खेल्ने खेल हो । यसमा शरीरको सन्तुलन र कलाको मुख्य भूमिका रहन्छ । यो खेलवाट छोटो दुरीको यात्रा सम्म तय गर्न सकिन्छ । ० नेपालमा यो खेलको प्रवेश कसरी गर्नु भयो ? – म पर्यटकीय क्षेत्र लेकसाइडमा बस्ने भएकोले विदेशी पर्यटकहरुले स्केटिङ खेलेको देखेपछि आफूले पनि स्केट बोर्डप्रति चासो बढाएर बोर्ड विदेशवाट झिकाएर खेल्न र आफ्ना साथीहरुलाई पनि सिकाउन थाले । त्यसपछि उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया गए । अष्ट्रेलियामा स्केट बोर्डको खेल व्यवसायिक रुपमा खेलिने रहेछ त्यसबाट पनि आफूले थप सिक्ने र वुझ्ने अवसर पाए । पढाई सकिएपछि स्वदेश फर्किएर स्केट बोर्ड खेललाई व्यवसायीक बनाउन आफ्नै जग्गामा स्केट पार्क बनाएर प्रशिक्षण गराएर यो खेलप्रतिको आकर्षण बढाएर दर्जनौं खेलाडी उत्पादनमा सहयोग मिल्यो त्यसपछि स्केट बोर्ड खेलले गति लिन थाल्यो । ० तपाई अष्ट्रेलिया जानु भएको थियो किन फर्कनुभयो ? – हो म अध्ययनको लागि अस्ट्रेलिया गएको थिएँ । म जीवनभर उतै बसेर प्रसस्त पैसा कमाउन सक्थे । तर, मेरो मनले मानेन । मैले आफ्नो राष्ट्र सम्झे, अनि स्केट बोर्ड खेललाई प्रवर्धन गर्ने अठोट गरे, अनि पढाई सकिने वित्तिकै आफ्नो मुलुक फर्किए । जुन लक्ष्य राखेर फर्किएको थियो त्यो पूरा हँुदैछ । मैले मेरो देशप्रतिको रोजाई र खोजाई पनि यहि सम्झेको छु । ० राज्यले स्केट बोर्ड खेललाई कसरी हेरेको छ ? – स्केट बोर्ड अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हो । ओलम्पिक खेलमा समावेश स्केट बोर्ड खेलको विकास, विस्तार र प्रवद्र्धनमा राज्यले कुनै ध्यान दिएको छैन । मेरो व्यक्तिगत पहलले पटक–पटक राज्यको निकायमा ध्यानाकर्षण गराउँदा पनि सरकारले कुनै सुनुवाई गरेको छैन । लाखौं युवाहरुलाई सक्षम बनाउने खेलकुदमध्ये एक्सन स्पोर्टको रुपमा उदाएको खेललाई राज्यले उचित प्रवन्ध गर्नु पर्ने हो । तर, दुःखका साथ भन्नु पर्छ राज्यको आँखा खुलेको छैन । ० स्केट बोर्ड (स्केटिङ) खेल पारखीहरु अहिले कसरी अगाडि बढ्दैछन् ? – यो खेललाई व्यवस्थित र व्यवसायिक ढंगवाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न संगठित हुने अभियान चलाएका छौं । हालै मात्र कास्कीमा मेरै अध्यक्षतामा स्केट बोर्ड एसोसिएसन गठन गरेका छौं । केन्द्रसम्म संगठन मजवुत बनाएर देशभरका सबै ठाउँमा स्केट बोर्ड खेललाई विस्तार गर्नै योजनामा छौं । ० यो खेलप्रति पोखरामा के–कस्ता प्रगति भएका छन् ? – पोखरा रंगशालामा स्केट बोर्ड ग्राउण्ड निर्माण गर्न सफल भएका छौं । ७ सय वर्ग मिटर क्षेत्रमा स्केट बोर्ड ग्राउण्ड बनाउने हाम्रो योजना सफल भएको छ । स्केट बोर्ड खेल प्रेमी विदेशी साथीहरुलाई ग्राउण्ड बनाउन सहयोग गर्न आग्रह गरिएपछि उनीहरुले सहयोग चन्दा उठाएर आफ्नै प्राविधिक सहयोगबाट करिव २५ लाखको लागतमा ग्राउण्ड तयार गरिएको छ । विदेशी मनकारी दाताहरुले आफ्नै पहलमा यत्रो सहयोग गरेको छ । अब नियमित खेल गतिविधिहरु अगाडि बढाउने योजनामा छौं । खेलकुद विकास समितिले ग्राउण्ड निर्माणका लागि जग्गा उपलव्ध गराएर स्केट बोर्ड (स्केटिङ) खेल प्रेमीहरुको धन्यवादको पात्र बनेको छ । ० यो खेल विकासमा राज्यबाट कस्तो अपेक्षा राख्नु भएको छ ? – सबभन्दा पहिला यो खेललाई राष्ट्रिय खेलकूद परिषद्ले राष्ट्रिय खेल सूचिमा समावेश गर्न जरुरी छ । त्यसपछि देशभरि यो खेलमा समावेश खेलाडीहरुलाई विशिष्टिकरण तालिम दिनु पर्छ । राज्यले खेलकूद क्षेत्रमा अरवौं लगानी गरेको छ । तरपनि अपेक्षाकृत राष्ट्रिय उपलव्धी हासिल हुन सकेको छैन । स्केट बोर्ड खेलमा सोही अनुपातमा लगानी गर्ने हो भने हामी राष्ट्रिय शिर उचो हुने गरि प्रतिफल दिन सक्छौं । ० तपाई निर्माण व्यवसायी र खेलाडी पनि हुनुहुन्छ, यो खेलमा कति भविष्य देख्नु भएको छ ? – स्वास्थ्य, दक्ष र सिर्जनशिल युवा राष्ट्रको आवश्यकता हो । ओलम्पिक खेलमार्फत विश्वमा ख्याती कमाउन सक्ने प्रवल सम्भावना बोकेको यो खेल आशाको केन्द्र हो । यसबाट नेपालले खेल पर्यटनमा पनि उल्लेख्य टेवा दिन सक्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उर्जाशिल युवाहरु यो खेलमा समावेश हुन सक्छन् । यसबाट नेपालले आफ्नो राष्ट्रिय अस्तित्व अन्तर्राष्ट्रिय स्तरमा उकास्न सफल हुने निश्चित छ । तर, यो कुरा हामीले मात्र सोचेर भएन राज्यले सोच्नु पर्छ । सबभन्दा मुख्य कुरो राष्ट्रिय खेलकुद परिषद्ले स्केट बोर्ड खेललाई सूचीकृत गर्नुपर्छ । त्यसो हुन सक्यो भनेमात्र यो खेलको संस्थागत विकास हुन सक्छ जस्तो लाग्छ । ० अन्त्यमा, के भन्न चाहनुहुन्छ ? – नेपालभरका स्केटप्रेमी सम्पूर्ण खेलाडीहरुलाई एकतावद्ध भएर अगाडि बढ्न आग्रह गर्छु । स्केट बोर्ड (स्केटिङ) को प्रवद्र्दनमा हामी सबै एकजुट हुनुपर्छ । साथै दृढ इच्छा शक्ति भएका हजारौं युवाहरु सम्मिलित भएर पनि छायाँमा परेको यो खेललाई माथि उकास्ने मेरो लक्ष्य हो । म एक्लैले यो काम गर्न मुस्किल छ । त्यसैले सबै खेलप्रमि दाजुभाई तथा दिदीबहिनीहरुसँग साथ र सहयोगको अपरेक्षा गरेको छु ।

Comments

Top