६ महिनाभित्र सम्मेलन, एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा

kepioline

 काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो ।

पार्टीले महाधिवेशन गर्ने घोषणा गरे पनि मिति भने तय गरेको छैन । गत जेठ ३ गते पार्टी एकीकरण कार्यक्रममा तीन महिनाभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न गर्ने बताइएको थियो । तर पार्टी ११ महिनासम्म आन्तरिक किचलोमा रुमलिएको थियो । पार्टी एकता भएको लामो समयपछि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपाले ७७ जिल्लाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ ।

विगतमा पूर्व दुई पार्टी एमाले र माओवादी केन्द्रबाट जिल्लाको अध्यक्षको जिम्मेवारी लिएकाहरुलाई नै पार्टीले अध्यक्ष र सचिव बनाएको छ । पार्टीले दोहोरो जिम्मेवारी नदिने मापदण्ड बनाए पनि विवादको गाँठो फुकाउन भागवण्डाअनुसार अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

 नेकपा पार्टी स्थापना दिवसको अवसरमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रिया अगाडि बढेकाले कार्यकर्ताहरुलाई उत्साहका साथ लाग्न निर्देशन दिएका छन् । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा नेकपाले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षद्वयले जनताको अधिकार र समृद्धिको चाहनालाई सम्बोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सामाजिक न्याय, जनतन्त्र र जनअधिकार, राष्ट्रियताको जगेर्ना र सार्वभौमसत्ताको रक्षाका लागि स्थापना भएको कम्युनिस्ट पार्टीले विगतमा उठाउँदै आएका जनअधिकारलाई संस्थागत गर्ने स्थानमा पार्टी आइपुगेको बताए । टुटफुटको शृंखलाबाट अगाडि बढेको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन गरिएको प्रयास सार्थक र सफल भएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले भने – ‘केही मान्छे छिद्र खोजेर बसेका थिए, त्यो छिद्रसमेत समाप्त भएको छ ।’

Comments

Top