बम विस्फोट गर्नेलाई नै आयोगले संरक्षण दिंदा प्रहरीलाई काम गर्न कठिनाई

fadera

   काठमाडौं । तोडफोड र आगजनीमा संलग्न प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई राष्ट्रिय मानव अधिकार आयोगले संरक्षण दिएका कारण नेपाल प्रहरीलाई शान्ति सुरक्षा कायम राख्न कठिनाई हुने देखिएको छ ।

घटना बाँके जिल्ला अदालतले साधरण तारेखमा छाड्ने आदेश दिएका विप्लवका कार्यकर्ता दानबहादुर फडेरा पक्राउ प्रकरणको हो ।

कैलालीको बडेपुर जंगलमा गत ३० फागुनमा जन्ती बोकेको मे१ख ४४१ नम्बरको बसमा आगजनी गर्ने समूहका नाइके फडेरा हुन् । प्रहरीले उनलाई फरार अभियुक्तिको सूचीमा राखेको थियो ।

गत १२ चैतमा नेपालगञ्जको राजपुरमा बम विस्फोट गरेको अभियोगमा इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरी फडेरालाई मुद्दा चलाएको थियो ।

प्रकाउपछि फडेरालाई जिल्ला अदालत बाँकेमा प्रहरीले पेश गर्यो । अदालतले फडेरालाई साधारण तारेखमा छाडेपछि कोहलपुर प्रहरीले कैलालीको बसमा आगजनी गरेको काण्डमा पुनः पक्राउ गरी कैलाली पठाउन खोजेको थियो ।

तर, मानव अधिकार अयोग नेपालगञ्ज शाखाका प्रमुख चन्द्रकान्त चापागाईले बसमा आगजनी गर्ने फडेरालाई संरक्षण दिंदा प्रहरीले पक्राउ गर्न सकेन ।

राष्ट्रिय मानव अधिकार आयोगले उल्टै प्रहरीले मानव अधिकार विरोधी काम गरेको भन्दै फडेरालाई पक्राउ होइन, प्रहरीमाथि नै छानविन गर्न पत्र पठाएको छ । यो घटनाले अब बम विस्फोट र आगजनीमा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गर्ने नभई मानव अधिकार आयोगले नै संरक्षण दिने गरेको प्रमाणित भएको छ ।

सरकारले बम विस्फोटमा संलग्न विप्लव समूहलाई प्रतिवन्ध लगाई सकेको छ र, देशभरीबाट ३०० भन्दा बढि कार्यकर्ताहरु पक्राउ परिसकेका छन् ।

तर, मानव अधिकार आयोगका कारण कोहलपुरमा भएको यो घटनाले अब विप्लव समूहका आतंकवादी क्रियाकलापलाई थप मलजल पुर्याउने देखिन्छ ।

इलाका प्रहरी कार्यालय कोलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंह भने पक्राउ गरी अदालतमा पेश गरिएका विप्लव समूहका सैन्य कमाण्डर फडेरालाई मानव अधिकार आयोगले संरक्षण दिंदा आफूहरुलाई काम गर्न अप्ठेरो भएको बताउँछन् ।

तर, चौतर्फि रुपमा मानव अधिकार आयोगकै विरोध भएपछि आयोगले फडेरालाई आज जिल्ला प्रशासन कार्यालय बाँकेमा पेश गरेको थियो । बसमा आगजनी गरेको काण्डमा फरार अभियुक्त फडेरालाई आज पुनः कोहलपुर प्रहरीले पक्राउ गरी कैलाली पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए ।

कैलाली जिल्ला अदालतबाट फडेरलाई आगजनी प्रकरणमा पक्राउ गरी पेश गर्न आदेश भए बमोजिम प्रहरीले पुनः पक्राउ गरी कैलाली पठाएको एसपी पौडेलले बताए ।

Comments

Top