केपीएलको उपाधि त्रिभुवन आर्मीलाई

kpl

   काठमाडौं । कर्णाली प्रिमियर लिग (केपीएल) को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा न्यू होराइजन बुटवललाई ५९ रनले हराउँदै आर्मीले उपाधि जितेको हो।

सुर्खेतको कालिन्चोक मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। उसका लागि हरिबहादुर चौहानको ५६ रनको अर्धशतकीय पारी खेले भने राजु रिजालले ३४ रन जोडे।

त्यस्तै भीम सार्की २१ रनमा अविजित रहे। न्यु होराइजनका विकास श्रेष्ठले २ विकेट लिए भने राहुल प्रजापति, बिपिन खत्री र अखिलेश यादबको भाग्माना समान १–१ विकेट रह्यो। १४७ रनको लक्ष्य पाएको न्यू होराइजनले १८।३ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो। उसका लागि विशाल सुनार २६ रनबनाए भने निश्चल चौधरीले १९ रन बनाउनबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन।

आर्मीका लागि जितेन्द्र मुखियार सहाब आलमले समान ३(३ विकेट हात पारे। उपाधिसँगै आर्मीले पाँच लाख रुपैयाँ पुरस्कार हात पार्‍यो भने उपविजेता बनेको न्यु होराइजन बुटवलले भने दुई लाख रुपैयाँमा चित्त बुझायो।

बुटवल होराइजनका कप्तान शक्ति गौचन सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। त्यस्तै आयोजक कर्णाली–११ का कप्तान रवीन्द्रजङ्ग शाहीले उत्कृष्ट ब्याट्सम्यान र आर्मीका सुशन भारीले उत्कृष्ट बलर बन्दै समान २०–२० हजार रुपैयाँ पुरस्कार पाए।

आयोजक कर्णाली क्रिकेट एकेडेमीले दर्शकमध्येबाट एक जनालाई मोटरसाइकल पुरस्कार दिने व्यवस्था गरेको थियो। वीरेन्द्रनगर ३ का अमर विकले गोलाप्रथाबाट एउटा मोटरसाइकल प्राप्त गरे। आठ टिम सहभागी भएको प्रतियोगितामा १५ वटा म्याच सञ्चालन भएका थिए।

Comments

Top