बजेटमा समृद्धिका विषय राखिएलान् ?

budge

  दुई तिहाइको सरकारले दोस्रो बजेट ल्याउँदै छ । बजेटको धमाधम तयारीहरू हुँदै छन् । अर्थमन्त्रालयले बजेट बनाइ रहेको छ । विभिन्न मन्त्रालयका मागअनुसार विकासका कार्यक्रमहरू राखिएका छन् । बजेटमा यस पटक अरु विषय परेपनि वा नपरेपनि वृद्ध भत्ता बढ्ने आम जनताको बुझाई छ ।

यद्यपी सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले भने बृद्धभत्ता नदिने भाषण गरिसकेका छन् । सरकारले यस पटक प्रि बजेटको छलफल र सरकारको नीति तथा कार्यक्रमलाई अगाडि पछाडि पारेर ल्याउने तयारी गरेको छ । सरकारको त्यो तयारीको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विरोध गरिरहेको छ । विगतको परम्परालाई उल्लंघन नगर्न कांग्रेसले सरकारलाई चेतावनी दिएको छ ।

सरकारले यो विषयमा जवाफ दिएको छैन ।

विगतका परम्परालाई तोड्नु सरकारको रहर पनि हुन सक्छ । अहिले कम्युनिस्ट पार्टीको नेतृत्वमा दुई तिहाइको सरकार बनेको छ । दुई तिहाइको दम्भ वर्तमान सरकारलाई हुन सक्छ । दुई तिहाइ भएपनि लोकतान्त्रिक शासन व्यवस्थामा सरकारले बेवास्ता गर्न मिल्दैन ।

प्रमुख विपक्षी दलको आवाजलाई पनि सरकारले मान्नुपर्छ । बजेटले के कस्ता विषयलाई प्रथामिकतामा पर्ने हुन् केही भनिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको कुरा गर्दै आएका छन् । अबको बजेटमा समृद्धि देखाउने खालका विषय राखिनेछ ।

बजेटमा रेल र पानीजहाजको योजना पनि पर्नेछ । बजेटको आकार पनि बढ्नेछ । केही नयाँ योजनाहरू पनि पर्नेछन् । कर्मचारीको तलव वृद्धि पनि हुनेछ । तलव वृद्धि गराउन सरकारी कर्मचारीहरूले दवाव दिइरहेका छन् । सामाजिक सुरक्षा भत्ताहरूमा पनि हेरफेर हुने बताइएको छ । बजेटको आकार बढे पनि मुद्रास्फ्रिति हुने खतरा पनि उत्तिकै छ ।

आर्थिक वृद्धिदर बढाउने बारेमा पनि बजेटले ध्यान दिनेछ । सरकारले प्रचारमुखी, वितरणमुखी बजेटभन्दा पनि दीर्घकालीन महत्वका ठूला योजना र कार्यक्रम राख्नु नै उचित हुनेछ । होइन भने बजेट मात्रै छुट्याउने काम नहुने अवस्था आउन सक्छ ।

बजेट बनाउँदै गर्दा सरकारले नेपाली कांग्रेसको पनि सुझाव लिनुपर्छ । होइन भने बजेट कार्यान्वयनमा समस्या आउन सक्छ ।

Comments

Top