मिडियामाथि नियन्त्रण गरेर अधिनायकवादतिर सरकार, तर फिर्ता गराएरै छाड्छाैं : नेपाली कांग्रेस

sher bahadur deuba_1

   काठमाडौं । नेपाली कांग्रेसले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार मिडियामाथि नियन्त्रण गरेर अधिनायकवादतिर अघि बढेको आरोप लगाएको छ । मिडिया काउन्सिलसन्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथि नै कू भएको बताउँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा दर्ता गराएको विधेयक संविधानको मर्म विपरित भएको दाबी गरेको हो ।

आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने बताए । उनले भने–‘यो पत्रकार र प्रेस स्वतन्त्रतामाथिकै कू हो । हामी यसलाई फिर्ता गराउँछौं ।’

मिडिया काउन्सिलसम्बन्धी विधेयक नेपालको संविधानको प्रस्तावनाकै शब्द, भावना र मर्मको प्रतिकुल रहेको कांग्रेसको दावी छ । 

सभापति देउवाले यो ‘कू’ को प्रतिवाद गर्ने बताए। उनले भने–‘यस्तो पनि हुन्छ ? लेख्न पनि नपाउने बोल्न पनि नपाउने ? कांग्रेसको पहिलो शर्तनै अभिव्यक्ति स्वतन्त्रतता हो।’

 

समाचार लेख्ने क्रममा पत्रकारबाट त्रुटी हुँदा हाल प्रेस काउन्सिलले विधि प्रक्रिया र आचारसंहिताको हेक्का गराउँदै आएको भन्दै कांग्रेसले नयाँ विधेयकमा सोझै जरिवाना तय गर्नु न्यायोचित र काउन्सिलको विश्वब्यापी स्थापित परम्परा विपरीत भउको दावी गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने–‘विश्वव्यापी रुपमा प्रेस सम्बन्धमा दुई मापदण्ड प्रसिद्ध छन् । पहिलो, जहाँ लोकतन्त्रको समुन्नत अभ्यास छ, त्यहाँ प्रेसले निर्वाध काम गर्न पाएको छ र आफ्ना लागि आचारसंहिता आफै तय गरेको छ ।

दोस्रो, जहाँ अधिनायकवाद छ, त्यहाँ प्रेसलाई सरकारले या त सोझै नियन्त्रण गरेको छ या अनेक कानून निर्माण गरेर घुमाउरो ढंगले नियन्त्रणमा राखेको छ । नेपाली कांग्रेस सोध्न चाहन्छ दोस्रो बाटो हिडेर सरकार आफूलाई लोकतान्त्रिक सिद्धान्त र संस्कारको दावी गर्न कसरी सक्छ ?’

Comments

Top