केही वर्ष भित्र ल्हासाबाट काठमाडौं रेल आउँछ : प्रचण्ड

prachanda_1

   काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही वर्ष भित्र चीनबाट रेल काठमाडौं आउने बताएका छन् । राष्ट्रिय विभूति सीताको जन्म जयन्ती समारोहलाई सोमबार बिहान प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले चीनको ल्हासाबाट केही वर्षभित्रै रेल काठमाडौं आउने दावी गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले उक्त रेललाई लुम्बिनी र पोखरासम्म पुर्‍याउने पनि बताए । उनले भने–‘अब केही वर्षभित्रै, तपाईं हामी जीवित रहँदारहँदै रेल आउने भइनैसकेको छ ।’

आफू प्रधानमन्त्री हुँदा सबैभन्दा पहिले चिनियाँ राष्ट्रपतिलाई ल्हासाबाट रेल ल्याउने र भृकुटीले खेलेको भूमिकालाई स्थापित गर्न नयाँ अभियान चलाउने कुरा गरेको जानकारी दिँदै प्रचण्डले अहिले त्यो सपना साकार हुन लागेको बताए ।

प्रचण्डले नेपालका शक्तिपीठहरु र नेपाल–भारतका शक्तिपीठहरुलाई पनि जोडेर सर्किट बनाउन सकिए धार्मिक पर्यटनको विकासमा क्रान्ति नै आउने दावी गरे । उनले भने–‘लुम्बिनी, पशुपति र जनकपुरलाई जोड्ने एउटा सर्किट देशभित्रै बनाउन जरुरी छ, । अनि पूर्व पाथिभरादेखि बाजुराको बडिमालीकासम्मका सबै शक्तिपीठहरुलाई जोड्ने शक्तिपीठ सर्किट बनाउन जरुरी छ ।’

‘पछिल्लो पटक भारत भ्रमणमा जाँदा नेपाल र भारतका शक्तिपीठहरुलाई मिलाएर एउटा शक्तिपीठ बनाउन सम्भव छ भनेर चर्चा गरेको थिएँ । त्यसलाई सम्भव बनाइयो भने धार्मिक पर्यटनको विकासमा एउटा क्रान्ति नै आउन सक्छ र त्यो धार्मिक पर्यटनको विकासले हामी दुवै देशका जनताको आर्थिक जीवनमा समृद्धिको गुणात्मक ढंगले नयाँ प्रकृतिको जन्म हुनसक्छ भन्ने कुरा भएको थियो ।’

Comments

Top