भारलाई चेतावनी दिँदै ठूलो परिमाणमा हतियार बोकेको चिनियाँ सेना तिब्बतमा

काठमाडौं ।  भारत र चीनबीचको डोकलाम सीमामा दुई देशबीच तनाब बढिरहेकै वेला ठूलो परिमाणमा हतियार बोकेको चिनियाँ सेना तिब्बत प्रवेश गरेको छ। ती हतियार सडक र रेलमार्ग हुँदै सो क्षेत्रमा ओसारिएको जनाइएको छ । हतियार ल्याइएको क्षेत्र चीनका लागि रणनीतिक महत्वको क्षेत्र बताइन्छ । पछिल्ला साता चीनबाट प्रकाशित हुने विभिन्न सञ्चार माध्यहरूले भारतलाई बारम्बार चेतावनी दिँदै आएका छन् ।

 भारतीय सेना सीमाबाट नफर्किएमा भारतले अप्रिय परिणामको सामना गर्नुपर्ने चेतावनी चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स र सिन्ह्वाले दिँदै आएका छन् । तर, यी दाबीबारे चीन सरकारले आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन । एक साताअघि मात्र जनसेनाको एउटा समूहले तिब्बती क्षेत्रमा विशाल सैन्य अभ्यास गरेको थियो ।

 सो अभ्यास पछिल्लो वर्षयताकै सबैभन्दा ठूलो भएको चिनियाँ सञ्चार माध्यहरूले जनाएका छन् । चीन र भारतका सेना सीमावर्ती क्षेत्र डोकलाममा आमनेसामने भइरहेका वेला जनसेनाको अभ्यासलाई अर्थपूर्ण रूपमा लिइएको छ । चीनको पछिल्लो कदमले भारत थप सतर्क र चनाखो बनेको छ । चीनले हतियार ओसारेको र युद्ध अभ्यास गरेको क्षेत्र डोकलामबाट नजिकै रहेको हङकङस्थित साउद चाइना मर्निङ पोस्टले जनाएको छ ।

 यता,भारतीय सेनाको एउटा समूहले सीमा क्षेत्रमा टेन्ट टाँगेर २४सै घन्टा निगरानी बढाएको छ । चिनियाँ सेनाले आफ्ना गतिविधि नरोकेसम्म भारतीय सेना पछाडि नहट्ने सेनाका अधिकारीहरूले बताएका छन् । १० हजार फिटको उचाइमा सिक्किमको सीमामा परिचालन गरिएका सेनालाई नियमित रूपमा खाद्यान्न र बन्दोबस्तीका सामग्री पठाइएको भारतीय अधिकारीहरूले बताएका छन् । बन्दोबस्तीका सामग्रीसहित सेना परिचालनले नयाँदिल्ली बेइजिङसँग नझुक्ने संकेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चिनियाँ सेनाले डोकलाममा सडक निर्माण गरेपछि दुई देशबीचको तनाब चुलिएको छ । -एजेन्सीको सहयोगमा

Comments

Top