पार्टी एकीकरणमा एमाले र माओवादीका यि नेताहरु नै बाधक

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुन्छ वा हुँदैन भनेर जिज्ञासाहरू आउन थालेका छन् । पार्टी एकीकरणका लागि अहिलेसम्म दुबै दलका नेताहरूले असर पर्ने गरेर कुनै अभिव्यक्ति त दिएका छैनन् तर, एकीकरण कहिले हुने हो भन्ने विषयमा स्पष्ट केही बताएका छैनन् । एमालेका सचिव प्रदीप ज्ञवाली एमाले र माओवादीबीच पार्टी एकीकरण भएरै छाड्ने बताउँछन् । उनी भन्छन्, ‘गृहकार्य भइरहेको छ । पार्टी एकीकरण हुन्छ । तर, भरखरै निर्वाचन सकिएको छ । अहिले त्यस विषयमा गम्भीर रुपमा कुराकानी हुन पाएको छैन ।’ सचिव ज्ञवालीले पहिला सरकार गठनमा कुराकानी भइरहेको बताए । ‘पहिला हामीले सरकार बनाउने हो’, उनले भने,‘त्यसपछि ३ महिनाभित्र पार्टी एकीकरण गर्ने छौँ । जिम्मेवारीको कुरा पनि छ । त्यो पनि मिलाउनुपर्छ ।’ बाहिर नेताहरूले पार्टी एकीकरण हुने बताए पनि भित्र भने नेताहरू नै सशंकित हुने गरेका छन् । धेरै नेताहरू अहिले पनि एमाले र माओवादीबीच पार्टी एकीकरण हुँदैन कि भन्नेमा शंका गरिरहेका छन् । के आधारमा पार्टी एकीकरण हुने हो स्पष्ट रुपमा नेताहरू बताउँदैनन् । नेपालका कम्युनिष्ट पार्टीहरू एक हुने भनेर मोटो जवाफ मात्रै दिने गरेका छन् । स्रोतका अनुसार एमाले र माओवादीबीच तत्काल पार्टी एकीकरण हुने सम्भावना न्यून छ । बाम गठबन्धनका दुई हस्ती बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पराजित भएपछि एकीकरणको कुराले खासै महत्व नपाउने बताउने गरिएको छ । कृष्णबहादुर महरा, वर्षमान पुन, हरिबोल गजुरेल, मातृका यादव, रामबहादुर थापा, पम्फा भुसालसहितका नेताहरू पनि एकीकरणको पक्षमा खासै रुचिकर देखिदैनन् । एमालेका माधवकुमार नेपाल, झलनाथ खनाल, सुवासचन्द्र नेम्वाङ ईश्वर पोखरेल, शंकर पोखरेलसहितका नेताहरू पनि एकीकरणको पक्षमा खुलेर अभिव्यक्ति दिएका छैनन् । हल्काफुल्का रुपमा उनीहरूले पार्टी एकीकरणको कुरा गरे पनि भित्रै मनदेखि पार्टी एकता नचाहएको स्रोतको भनाई छ । पार्टी एकीकरण हुँदा केपी ओलीले पुष्पकलम दाहाल ‘प्रचण्ड’ लाई पार्टी अध्यक्ष दिनुपर्छ । होइन भने प्रधानमन्त्री पद दिनुपर्ने हुन्छ । प्रचण्डले पार्टी एकीकरण भए पनि पार्टी अध्यक्ष वा प्रधानमन्त्री दुबै पद पाउने ज्यादै न्यून छ । यस्तो अवस्थामा पार्टी एकीकरण तत्काल हुने नदेखिएको एक नेताले बताए ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

Comments

Top