ब्रिटिश प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा सुधार, आईसीयूबाट बाहिर निकालियो

hospital copy
लन्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यस्थितिमा सुधार आएको छ । स्वास्थ्यमा आएको सुधारलाई मध्यनजर गर्दै उनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको तर उनी अस्पतालमै रहने जोन्सनका प्रवक्ता डाउनिङ्ग स्ट्रीटले जनाएका छन् ।

कोरोनाभाइरसको सङ्क्रमण देखिएका जोनसन गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहेका छन्।

‘नम्बर टेन’ भनेर चिनिने प्रधानमन्त्री कार्यालयले जोनसनलाई बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई डाक्टरहरूले निकटमा रहेर निगरानी गर्ने बीबीसीले जनाएको छ।

प्रवक्ताले थपे, ‘उहाँ एकदमै राम्रो मनस्थितिमा हुनुहुन्छ।’

कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्‍याइएको थियो र त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो।

उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको डाउनिङ्ग स्ट्रीटले यसअघि जनाएको थियो।

उनको स्वास्थ्य स्थितिमा ‘क्रमिक सुधार आएको’ र उपचारका क्रममा आफूले पाएको ‘उत्कृष्ट सेवा’ का लागि उनले एनएचएसलाई धन्यवाद दिएको प्रवक्ताले बताए।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोनसनलाई सघन उपचार कक्षबाट वार्डमा सारिनु ‘शुभ समाचार’ भएको बताए। tt

स्वास्थ्य मन्त्री म्याट ह्यानककले भने, ‘प्रधानमन्त्री सघन उपचार कक्षबाट बाहिर निस्किएर निको हुने बाटोमा लाग्नु एकदमै राम्रो भयो। एनएचएस हामी सबैका लागि हो र मलाई थाहा छ हाम्रा एनएचएसका कर्मचारीले जोनसनलाई विश्वस्तरीय सेवा दिएका छन्।’

हालै निर्वाचित लेबर नेता सर किर स्टार्मरले पनि ‘शुभ समाचार’ को स्वागत गर्दै ट्वीट गरे, ‘शीघ्र स्वास्थ्यलाभको यो शुरूवात भएको आशा गर्छु।’

यसैबीच, ‘सेवा गर्नेका लागि ताली’ नामक तेस्रो कार्यक्रममा युकेभरि मानिसहरूले एनएचएसका कर्मचारी र महामारीविरुद्ध अग्रमोर्चामा रहेर काम गर्ने अन्य कामदारको प्रशंसा गरेका छन्।

Comments

Top