नेपालमा संक्रमण तीव्र फैलन नसक्ने पाँच कारण

aaa
काठमाडौं । कोरोना भाइरसको महामारी विकसित देशका लागि समेत ऐतिहासिक चुनौतीको रुपमा खडा भइरहेका बेला नेपालमा भने संक्रमण तीव्र रुपमा फैलिन पाएको छैन । हालसम्म ९ जना संक्रमित भएको पुष्टि भएको छ । तीमध्ये एकजनाको उपचार भइसकेको छ । अन्य ८ जनाको उपचार भइरहेको छ ।

सरकारी तथ्यांक अनुसार बिहीबारसम्म १ सय ३४ जनालाई आइसोलेसनमा राखिएको छ । त्यसो त, नेपाल सरकारले एकजना संक्रमित देखिएपछि नै लकडाउन सुरु गरेको थियो । पछिल्लो समय पश्चिम नेपालका भूभाग कोरोना संक्रमणको हिसावले जोखिममा रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

तर तीव्र फैलावट भएको छैन । नेपालमा किन संक्रमणका घटना तीव्र फैलन पाएनन् भन्नेबारे बिबिसी नेपालीले विस्तृत रिपोर्ट तयार पारेको छ । जहाँ पाँच कारण हुनसक्ने भन्दै बिबिसीको रिपोर्टमा औंल्याइएको छ । बिबिसीले केही विज्ञ तथा चिकित्सकलाई उद्धृत गर्दै परीक्षण नै कम भएकाले संक्रमित संख्या पनि कम देखिएको हुनसक्ने निष्कर्ष निकालेको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबारसम्म जम्मा २ हजार ३ सय ६६ वटा नमुना परीक्षण मात्रै गरेको जनाएको छ । जसमध्ये २ हजार ३ सय ५७ जनामा संक्रमण भेटिएन । साथै परीक्षण पनि काठमाडौं केन्द्रित छ । यसवाहेक उपकरण, किट उपलब्ध नहुनुलाई पनि कारणको रुपमा देखाइएको छ ।

यस्तै नेपालीको जीवनशैलीका कारण पनि संक्रमण तीव्र रुपमा नफैलिएको बताइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा। शेरबहादुर पुनले नेपाली जीवनशैलीको प्रभावले कोरोना भाइरस फैलनसक्ने सञ्जाल भत्किएको हुनसक्ने बताएका छन् ।

नेपालीको पानीको अत्याधिक प्रयोग गर्ने र धेरै पकाएर खाने बानीले पनि संक्रमण फैलनबाट रोकिएको हुनसक्ने उनको तर्क छ । रिपोर्टका अनुसार प्रतिरक्षा प्रणाली बलियो हुनु, क्षयरोग विरुद्ध दिइने बिसीजी खोपको प्रभाव र भाइरस फैलाउने पूर्वाधार नहुनुले गर्दा संक्रमण तीव्र रुमपा फैलन नपाएको हो ।

विज्ञहरुले नेपालमा संक्रमण फैलनसक्ने संरचना पनि अन्य देशको तुलनामा कम भएको तर्क गरेका छन् । खासगरी सहरी पूर्वाधार तथा धेरै भीडभाड हुने ठाउँ नभएकाले पनि संक्रमण फैलन नसक्ने चिकित्सकहरुले जनाएका हुन् । कतिपय विकसिम देशमा रेलवे, बस स्टेशन, स्कुल, कलेज लगायत संक्रमण फैलने सम्भावित क्षेत्र लकडाउन घोषणा विना नै बन्द गरिएको छ । -अन्नपूर्णपाेस्ट्

Comments

Top