नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो, सनसिटीमा बस्ने सबैको परिक्षण गरिने

  नेपालमा कोरोना संक्रमित संख्याः १६ 

Suncity

काठमाडौं । सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद एकै परिवारका दुई जनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । पिसिआर प्रविधिबाट परीक्षण गर्दा उनीहरूको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

बेलायतबाट आएका उनीहरुको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो । उनीहरु मध्ये एकैपरिवारका ८१ वर्षीया वृद्धा आमासहित ५८ छोराको संक्रमण पोजेटिभ देखिएको छ भने र ५६ वर्षीया बुहारीको नेगेटिभ देखिएकोले पुनः परिक्षण गरिने जनाइएको छ ।

उनीहरुमा संक्रमण पुष्टि भएसँगै अपार्टमेन्टमा बस्ने करिब पाँचसय परिवारका १८ सय जना जोखिममा परेका छन् । साथै उनीहरुबाट थप व्यक्तिमा संक्रमण भएको हुनसक्ने भएकाले उपत्यका नै जोखिममा छ । उनीहरूमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि अपार्टमेन्टमा बस्ने सबैको परिक्षण गर्ने तयारी गरिएको छ ।

आरडिटी टेष्टमा पोजेटिभ देखिएपछि उनीहरुलाई सोमबार नै अस्पताल भर्ना गरिएको थियो । अब उनीहरूसँग एउटै फ्लाइटमा आएका अन्य यात्रुहरूको पनि खोजी थालिने मन्त्रालय स्रोतले बताएको छ ।

Comments

Top