सार्कमा कोरोनाः भारतमा ११ हजार बढी संक्रमित, मृतक संख्या ४ सय नजिक

काठमाडौं । कोरोना भाइरसका कारण नेपालको छिमेकी मुलुक भारतमा पछिल्ला दिनमा संक्रमितको संख्या तिब्रतर गतिमा बढ्दै गएको छ । हालसम्म ११ हजार ४ सय ८७ जना संक्रमित भेटिएको भारतमा ३ सय ९३ जना मानिसको मृत्यु भएको छ । पछिल्ला दिनमा भारतमा दिनप्रतिदिन संक्रमित र मृतकको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा मात्र ३५ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

सार्क क्षेत्रमा सबैभन्दा बढी संक्रमित र मृतक भारतमा नै देखिएको छ । भारतमा पछिल्लो २४ घन्टामा मात्र १ हजार ३४ जना नयाँ संक्रमित देखिएको छ ।

त्यसपछि पाकिस्तानमा ५ हजार ८ सय ३७ जना संक्रमित भेटिएको छ भने ९६ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै बंगलादेशमा १ हजार १२ जना संक्रमितमा ४६ जनाको मृत्यु भइसकेको छ ।
अफगानिस्तानमा भने ७१४ जना संक्रमित मध्ये २३ जनाको मृत्यु भएको छ ।

श्रीलंकामा हालसम्म २३३ जना संक्रमित मध्ये ७ जनाको मृत्यु भएको छ । त्यस्तै माल्दिभ्समा २० जना संक्रमित छन् भने नेपालमा १६ जना संक्रमित पुगेका छन् । त्यस्तै भुटानमा ५ जना संक्रमित भेटिएको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर करिब २० लाख पुगेको छ । पछिल्ला दिनमा नियन्त्रणमा आइसकेको भनिएको चीनमा पनि संक्रमितको संख्या बढ्न थालेको छ ।
पछिल्लो २४ घन्टामा मात्र ७४ हजार १२ जना संक्रमित बढेका छन् । हालसम्म विश्वभर १९ लाख ९७ हजार ८६० जना संक्रमित देखिएका छन् ।

त्यस्तै हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार ५ सय ९९ पुगेको छ ।

Comments

Top