तथ्यांकमा कोरोनाः अमेरिका र फ्रान्समा मृत्यु एक्कासी बढ्दा इटाली र स्पेनमा कमी

US_France

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्ला दिनमा सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या अमेरिका र फ्रान्समा रहेका छन् ।

पछिल्लो दिनमा इटाली र स्पेनमा तुलनात्मक रुपमा कमी आएको संक्रमणका कारण अमेरिका र फ्रान्समा भने मृत्युदर निकै उच्च रहेको छ ।

अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै २ हजार ४ सय ८२ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुक फ्रान्समा १ हजार ४ सय ३८ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा २८ हजार ५ सय २९ जनाको मृत्यु भएको छ भने फ्रान्समा भने १७ हजार १ सय ६७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा अमेरिकामा ३० हजार २ सय ६ जना नयाँ संक्रमित भेटिएका छन् भने फ्रान्समा ४ हजार ५ सय ६० जना नयाँ संक्रमित भेटिएका छन् ।

यससँगै हालसम्म अमेरिकामा ६ लाख ४४ हजार ८९ जना संक्रमित भेटिएका छन् भने फ्रान्समा १ लाख ४७ हजार ८ सय ६३ जना छन् ।

पछिल्ला दिनमा तुलनात्मक रुपमा कम मानिसको मृत्यु भएको इटालीमा २१ हजार ६ सय ४५ पुगेको छ भने स्पेनमा १८ हजार ८१२ जनाको मृत्यु भएको छ । त्यस्तै बेलायतमा हालसम्म १२ हजार ८ सय ६८ को मृत्यु भएको छ ।

हालसम्म विश्वभर २० लाख ८२ हजार ३७२ जना संक्रमित देखिएका छन् । त्यस्तै हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ५ सय ६० पुगेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै ७ हजार ९ सय ६० जनाको मृत्यु भइसकेको छ ।

Comments

Top