जनताको करबाट किनेको लठ्ठी जनताकै ढाडमा नबर्सियोस्

sundar

 

नेपाल प्रहरी हरेक विपत एवं समस्यामा फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरुको संगठन एवं सुरक्षा निकाय हो । जसले राष्ट्रको क्षेत्राधिकारभित्र रहेका हरेक नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने दायित्व पनि आफैंमा निहीत गरेको हुन्छ, त्यसमा कुनै दुईमत छैन ।

हाल विश्वभर नरसंहारकारी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट नेपाल पनि अछुतो नरहेको स्पष्ट भईसकेको छ । नेपालको छिमेकी मुलुक चीनबाट सुरु भएको भाइरसका कारण अर्को छिमेकीमा संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा अगाडि बढ्ने क्रम देखिएको छ ।

ताजा तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्यामा भारत १८ औं स्थानमा रहनुले नेपालमा भाइरसको जोखिम दिनप्रतिदिन बढीरहेको छ । यसैलाई मध्यनजर गर्दै सरकारले विगत २४ दिनदेखि लकडाउनको घोषणा गरेको छ र सो को कार्यान्वयनका लागि जनतालाई सचेत गराउनका लागि सञ्चारमाध्यमका साथै लकडाउन पालना गर्नका लागि नेपाल प्रहरीलाई प्रमुख अधिकार सुम्पिएको छ । जुन सरकारले दिएको कामभन्दा पनि नेपाल प्रहरीको दायित्वभित्र पर्दछ ।

देशभित्र बढ्दै गएको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले लकडाउनलाई कडा पार्ने निर्देशनसँगै नेपाल प्रहरीले आफ्नो अधिकार लाठीलाई बढी दिएको आभाष भएको छ ।

महामारीको रुपमा सबैभन्दा जोखिमस्थानमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई सहायता गर्नुपर्ने ठाउँमा नेपाल सरकारको अधिकृतस्तरको व्यक्तिले बिना सोधखोज लाठी हान्नेदेखि लिएर औषधीलिएर आएका व्यक्तिलाई लाठी हान्ने अधिकारको प्रयोग गरिसकेका छन् ।

यी र यस्ता क्रियाकलापहरुको पाँचमहिनाको लागि मात्र नेतृत्वको घर्राको साँचो लिएर प्रधानकार्यालय छिरेको नेतृत्वले मूल्यांकन र समीक्षा गर्नसक्नुपर्दछ । हरेकपटक विवादबीच नेतृत्व चयन हुने परम्परा रहेको निकायमा विनाबिवाद नेतृत्व पाएका महानिरीक्षकले छोटो कार्यकालमा विवादै विवादको घेरामा नघेरिने कोशिष गर्नुपर्दछ । छोटो समयको नेतृत्वमा विगतका नेतृत्ववर्गले गर्दै आएको कर्मलाई फलोअप गर्नुभन्दा पनि सरल र संयम तरिकाले हरेक तहका इन्चार्जलाई परिचालन गर्नु उनको दायित्व रहने देखिन्छ ।

poli_1

वर्तमान नेतृत्वले कुनै पनि बिट, चौकी, वृत्त जुनसुकै निकायको इन्चार्जसिप गर्न खटाउने प्रहरी कर्मचारी अथवा अधिकृतलाई कम्तीमा एकै घन्टाको भएपनि नेतृत्वबारे ‘काउन्सिलिङ’गर्नु जरुरी देखिएको छ । इन्चार्जसिप दिनुअघि परिस्थितिअनुसार निर्णय लिन र आत्मसंयमता नगुमाउनका लागि अभिप्रेरित गरिनुपर्दछ ।

जुन अधिकृतले आफूजस्तै महामारीको युद्धमैदानमा खटिएका स्वास्थ्यकर्मीलाई आक्रमण गर्दछ, त्यसले कुनैबेला आफ्नो स्वार्थको लागि प्रहरी भित्रै पनि आक्रमण नगर्ला भन्न सकिँदैन । महामारीको समयमा स्वास्थ्यकर्मी पनि हिंसा र द्वन्द्वग्रस्त क्षेत्रमा गोलीगठ्ठासहित खटिएको सुरक्षाकर्मीजस्तै हुन् भन्ने कुरा महसुस गर्न नसक्ने सुरक्षाकर्मी र त्यसका लागि अभिप्रेरित गर्न नसक्ने सम्बन्धित निकायबाट जनताले सुरक्षित भन्दा पनि असुरक्षित महसुस गर्ने वातावरण सिर्जना हुन नपाओस् ।

राजधानीको सुविधासम्पन्न स्थानमा ड्युटी भएका प्रहरी अधिकृतले संयमता कायम नसकेको यस परिवेशमा दुर्गम र सीमावर्ती क्षेत्रमा खटिएका प्रहरी अधिकृतहरुको अवस्था के होला भन्ने कुराबारे नेतृत्व सचेत हुनुपर्दछ । राजधानी जस्तो स्थानमा डाक्टर र औषधी किन्न हिँडेका जनताले यस किसिमको सजाय भोग्नुपर्दछ भने दुर्गम र सीमावर्ती क्षेत्रका सर्वसाधारणले कस्तो नियति भोग्नुपरेको होला त्यसको आँकलन गर्न सक्नुपर्दछ ।

आम सर्वसाधारण पनि परिस्थितिअनुसार चल्न सक्नुपर्दछ । अधिकारको ध्वाँस दिँदै महामारीको यस विषम परिस्थितिमा जथाभावी सडकमा हिँड्नुका साथै सरकार एवं सुरक्षा निकायको आदेश पालना अक्षरशः गर्नुपर्दछ । जनताकै सुरक्षाका लागि आप्mनो ज्यान जोखिममा राखेर ड्युटी निभाइरहेका प्रहरीको संयमतालाई आवेगतामा परिणत गराउनुहुँदैन । 

चाउचाउ र पाउरोटीको भरमा वैशाखको तातोघाममा खटिएर ड्युटी गर्नुको पीडा त अवश्य पनि असैह्य नै हुन्छ तर आफूले किन र केका लागि गरिरहेको छु भन्ने कुराको मूल्यांकन गर्न हरेक सुरक्षाकर्मीले पनि सक्नुपर्दछ । आफूले बोक्ने लाठीमा कसको पसिना परेको होला भन्ने अनुमान गर्नसक्नु प्रत्येक सुरक्षाकर्मीको कर्तव्य हुन आउँछ । जनताले दुःख गरेर तिरेको कर नै उनीहरुले बोक्ने लाठी, बन्दुक र बर्दीको एक अंश हो भन्ने लाग्दछ भने जनताले तिरेको करबाट किनेको लाठी उनीहरुको ढाडमा बर्सिन बन्द गरिनुपर्दछ ।

Comments

Top