बलिउडका पहिलो अन्तरराष्ट्रिय सुपरस्टारको संघर्ष कथा

dee

लगातारको लकडाउन, सम्भावित भोकमरीको भय र कोरोनाको सन्त्रासबाट चिन्तित दाजुभाई, दिदिबहिनीहरु कोही भारतको गोरखपुरदेखि बागलुङको गल्कोट्सम्म आएको अनि कोहि सोलुखुम्बुदेखि काठमाडौ हुँदै कैलाली झर्दै गरेको खबरले मन उद्देलित बनाएको छ । बाटोभरि काँधमा जेब्रा झोला र बालबच्चा च्यापेर घर पुग्ने कठिन अभिलाषा बोकेर सुदुर यात्रामा निस्केका गरिब तथा मजदुरहरुलाई के थाहा शासकको फरमान अनुसार यसो गर्नु गम्भीर अपराध हो । किनकी हुकुमी आदेश छ ‘बरु भोकै मर्नु, भावनामा नबग्नु ।’

भावनामा बगेर सोलुदेखि काठमाडौ आइँदैन भनेर सत्तालाई कसरी भनौं जब कि सत्तालाई शितलनिवास देखि एअरपोर्ट पुग्न पनि हवाईजहाज चाहिन्छ । भावनामा बगेर चिनको रेल सर्लक्कै काठमाडौ उतारे जस्तो सजिलो कहाँ छ र यो कठिन यात्रा?जनतालाई छद्म राष्ट्रबादको भावनामा बहकाएर चुनाव जिते जत्ति सहज पनि हुदैनन् यस्ता कठिन भोगाइ र दुरी । विनम्र चुनौती छ धेरै होइन महामहिम शासक महाराजगंजबाट सिंहदरबार र सरकारप्रमुख बालुवाटारबाट सिंहदरबार हिंडेर आउ म आजिवन तिम्रो स्तुति नै लेखेर बस्छु ।

र भावनामै बगेर गौरंग चक्रवर्ती पनि बम्बई कलाकार बन्न पक्कै गएका थिएनन ।

नायक भनेको कस्तो हुनुपर्छ ? रुपरङ गोरो र उजेलो अनि चिटिक्कको, हेर्दा अनुहार सुन्दर र लोभलाग्दो होस् । बलिउडमा हिरो बन्ने न्यूनतम मापदण्ड यहि थियो जब बङालबाट गौरंग चक्रवती बम्बई जांदै थिए । कालो वर्णका यी युवाले बलिउडले सो समयसम्म पत्थरमा लेखेर राखेको यो नियमलाई उखेलेर फाल्यो र कोर्यो एउटा इतिहास र बन्यो मिथुन चक्रवती, जसलाई पच्छाएर इरफान खान, नवाजउद्दिन सिद्दकी जस्ता कलाकार आज बलिउडमा स्टार बनेका छन्। इरफान खानले त बारबार भनेका छन् ‘मिथुन चक्रवतीलाई पर्दामा देखेको दिन मात्र ममा विश्वास आएको थियो कि म पनि नायक बन्न सक्छु’ । तर यो स्टारडम उनिहरुले त्यति सजिलै पाएका चाहिं पक्कै होइनन् । मिथुन चक्रवर्तीको कथा त यो भन्दा पनि अफ्ट्यारो छ। किनकि इतिहास त्यति सजिलै बदलिंदैन् ।

बलिउडका चर्चित फिल्म समिक्षक कोमल नाहटालाई दिएको अन्तर्वार्तामा मिथुनले भनेका छन् ‘मेरो संघर्षको कथा निकै कठिन छ र हुन सक्छ यसले कसैको आत्मविश्वास नै गुम्न सक्छ’ । संघर्षका दिनमा मुम्बईका फुटपाथ र पार्कहरुमा कयौं रात बिताएका यी नायकले अन्तरबार्ताको क्रममा भनेका छन् ‘म फुटपाथबाटै यहाँ सम्म आएको हु’ । मुम्बईमा चरम अभावको सामना गरेका मिथुनका लागि मिथुनका एक साथी बिक्रम मंगेराले उनलाई कुनै जिमशालामा यसकारण भर्ना गरिदिएका थिए ताकी उनलाई विहानी नित्यकर्म गर्न सहज होस् । बिहानको नित्यकर्म जिमशालामा गरेर बाहिर निस्केपछि कता जाने, के खाने वा आज खान पाईन्छ कि नाई भन्ने कुराको कुनै टुंगो हुँदैन थियो । कयौंपटक पानीको ट्यांकी र घरको छतमा सुतेर मुम्बईमा बाचेका मिथुन चक्रबर्तीको कथा निकै दुख र पिडाको छ । यिनले मुम्बईमा यति पीडा र हन्डर खाए जसको कुनै निश्चित आंकडा छैन । आफुले जिवनमा सहजै हार्न नजानेको बताउने मिथुनले कठिन भन्दा कठिन समयमा पनि हारलाई सहजै स्वीकारेन्न । हारे पनि बरु लडेरै हार्ने सोच मिथुनले निर्माण गरेका थिए ।

बलिउडमा यस्ता सुपरस्टार नायक पनि छन् जसले आजसम्म पनि एक राष्ट्रिय चलचित्र पुरस्कार पाएका छैनन्, तर मिथुन चक्रबर्ती ती नायक हुन जसको पहिलो सिनेमा मृगयाले नै उनलाई उक्त अवार्ड दिलाएको थियो । यस चलचित्रमा उनी परमपरागत नायक जस्तै भने थिएनन् । यस सिनेमामा उनी आदिवासी नायकको भूमिकामा थिए । मृगयामा मिथुनलाई मौका दिएका मृणाल सेनले एक अन्तर्वार्तामा मिथुनलाई लिएको प्रसङ्ग बारे बताएका छन् । मिथुन चक्रबर्तीले फिल्म र टेलिभिजन ईन्स्टिच्युट पुनेबाट स्नातक गरेका छन् । सोही कलेजको कन्भोकेशनमा बोलाइएका मृणाल सेनले मिथुनलाई टाढाबाट देखेका थिए । दुई बर्षपछी जब सेन मृगया बनाउने सोचमा पुगे तब उनले आफ्नो क्यामराम्यान महाजनलाई मिथुनको खोजी गर्न भनेका थिए । ३ दिनपछि महाजनले मिथुनलाई भेटे र सेनलाई भेट्न पठाए । मृणाल सेनलाई प्रभावित गर्न मिथुनले आफू हेलनसंग काम गरिसकेको तेहेराएर भनेछन् । मृणालले भनेछन् ‘अब अर्कोपटक तिमिले यो वाक्य निकाल्यौ भने म तिमीलाई सिनेमाबाटै निकालिदिन्छु’ ।

पहिलो सिनेमाबाटै राष्ट्रिय पुरस्कर जितेको भए पनी उनलाई दोस्रो सिनेमा पाउन हम्मेहम्मे परेको थियो । प्रोडक्सन हाउसहरुको चक्कर काट्दा काट्दा उनी थाकीसकेका थिए । उनको हालत आर्थिक रुपले कतिसम्म खराब भएको थियो भने त्यसबेला कुनै एक पत्रकारले उनको अन्तरबार्ता गर्न खोज्दा उनले ती पत्रकारसँग सर्त राखेका थिए ‘पहिले मलाई पेटभरी खान खुवाउ अनि मात्र अन्तर्वार्ता दिन्छु’ । अभावको समयमा यिनले आफुले पाएको अवार्ड पनि बेच्न खोजेका थिए । धेरै ठाउँमा तिरस्कार र अपशब्द सुनेर अगाडि बढेका मिथुनका लागि एक निर्देशकले त के सम्म भनेका थिए भने ‘यदि यो कालो बंगाली हिरो भयो भने म फिल्मलाइन नै छोडिदिन्छु’ । तर पछि यस्तो पनि बेला आयो जब तिनै निर्देशकले मिथुनलाई लिएर सुपरहिट सिनेमा बनाए । तर आजसम्म पनि मिथुनले ती निर्देशकको नाम सार्वजनिक गरेका छैनन् । मृगयापछि उनले केही सानातिना भुमिकामा पनि काम गरे र जब सन् १९७९ मा उनको फिल्म सुरक्षा हिट भयो तब उनी बल्ल प्रचारमा आए ।यो सिनेमा रिलिजपछी एक पत्रकारले लेखे ‘अबको समयलाई र्डोयाउने स्टार जन्मिसक्यो’ ! नभन्दै यसपछाडी १९८२मा उनको फिल्म डिस्को डान्सर आयो र सफलताको यस्तो झन्डा गाड्यो जसलाई कसैले उखेलेर फाल्न सकेन। यो चलचित्र भारतमा मात्रै होईन बिश्वभरी सुपरहिट भयो । मिथुनलाई सयकरोड क्लबको संस्थापक यसै फिल्मले बनायो ।

यो फिल्मले मिथुनका सबै संघर्षको एक एक पत्रको हिसाब दिएको थियो । यसै चलचित्रको सफलताका कारण बलिउडको पहिलो अन्तर्रा्ष्ट्रिय सुपरस्टार पनि मिथुन नै बने । भारत जस्तै उनी रुस र कजाकिस्थानमा पनि निकै चर्चित छन् । डिस्को डान्सर रिलिज पछि उनी एकपटक कजाकिस्थान जादै गर्दा एअरपोर्ट बाहिर लाखौं मान्छे जम्मा भएर जिम्मी जिम्मी भन्दै मिथुनलाई स्वागत गरेका थिए । तिनपटक राष्ट्रिय फिल्म पुरस्कार, फिल्मफेयर अवार्ड र अरु थुप्रै अवार्ड जितेका मिथुन चक्रवर्तीको धेरै नायिका संग नाम जोडियो । सारिका, हेलेन लुक, श्रीदेवी आदि । श्रीदेवीसँग त यिनको विवाह नै भएको चर्चा भयो जब फ्यान नामक पत्रीकाले यी दुईको विवाह दर्ताको सर्टि्फिकेट नै छापिदिये । गिता बालीसँग बिबाह गरेका मिथुनका चार बच्चाबच्ची छन् ।

कुनै समय संघर्षबाट थकित भएका मिथुनले जयाबच्चनसँग आफुलाई अमिताभको पिए बनाइदिन अनुरोध गरेका थिए तर जया बच्चनले उनलाई भनेकी थिइन् ‘तिमी यसरी हरेश नखाउ तिम्रो एक दिन पक्कै आउँछ’ । मिथुनको रंगको बर्णलाई लिएर होच्चाइने सो समयमा नायिका जिनत अमानले आफू मिथुनसँग फिल्म खेल्न सहज रहेको बताएकी थिइन।् यसैकारण, उनी प्रती आफू संधै रिणि रहेको मिथुनले बताउने गरेका छन् । सलिम खानले पनि निकै हौसला दिएका मिथुन चक्रवर्ती को जिवनी साच्चै प्रेरणादायी छ । फुटपाथबाट उठेर नायक बनेका मिथुन चक्रबर्तिले आज ४५० भन्दा धेरै फिल्ममा अभिनय गरेका छन् । हिन्दी, बङाली, तेलगु,तमिल, कन्नड,उडिशी,पनजाबी, भोजपुरी लगायतका फिल्ममा काम गरेका मिथुनले कुनै समय पैसाको लागि मात्र फिल्म गरेका थिए । उंटिमा आफ्नो होटल बनाउन आफुले यस्ता फिल्म खेलेको उनले स्पष्ट बताएका थिए । उनले भनेका छन् ‘मैले तीन तरिकाका फिल्म गरेको छु । पहिलो आफनो सन्तुष्टीका लागि, दोस्रो मेरा फ्यानहरुको लागि र तेस्रो सिर्फ पैसा कमाउनका लागि’ । उनले करिब १२० वटा यस्ता फिल्म पनी खेले जसको स्क्रीप्ट हेर्दा पनि हेरेन्न। लिम्का बुक अफ बल्र्ड रेकर्डमा नाम लेखाएका मिथुनको ती रेकर्ड शायदै कहिलै तोडिएलान् ! एकै भाषामा २५० फिल्ममा लिड रोल खेल्ने विश्वकै एकमात्र नायक मिथुनले एकै डाइरेक्टर टिएल भि प्रसादसंग ३० फिल्ममा काम गरेको रेकर्ड पनि छ ।

mmm

ताहदर कथा नामक बंगाली सिनेमाका लागि दोस्रो राष्ट्रिय पुरस्कार जितेका मिथुनले बंगाली फिल्म स्वामी बिबेकानन्द का लागि तेस्रो पटक राष्ट्रिय पुरस्कार पाएका छन् । सन् १९९२ मा रिलिज भएको हिन्दी फिल्म अग्निपथको आफ्नो पात्र कृष्ण अइयर नरिवल पानीवालाको लागि सपोर्टिङ हिरोको फिल्मफेयर अवार्ड जितेका मिथुनले फिल्म जल्लाद बाट भिलेनको पनि फिल्मफेयर अवार्ड पाएका छन् । १९९५ देखि लगातार १९९९ सम्म फिल्म क्षेत्रबाट राज्यलाई सबैभन्दा बढी कर तिर्ने पनि यिनै मिथुन थिए । टिभिमा सबैभन्दा लोकप्रिय कार्यक्रम मानिने डान्स इन्डिया डान्सका कन्सेप्ट मास्टर मिथुन नै हुन् । बलिउडमा सबैले उनलाई प्रेम र सम्मानपूर्वक मिथुनदा भन्ने गर्दछन् ।

डान्स र मार्सल आर्टलाई फिल्ममा उतारेर आफ्नो छुट्टै पहिचान बनाएका मिथुनले डान्सका स्टेपहरु खासगरि एल्भिस प्रेसले, माइकल ज्याकशन र क्याब डान्सर फ्रेड अस्टायरबाट लिएर तिनलाई मिथुनकरण गरेको बताउने गर्छन् । त्यस्तै उनको फाइटमा आउने मार्सल आर्टको स्टेप उनले बुरुसुली बाट लिदै त्यसलाई भारतीयकरण गरेका थिए । आफ्नो छालाको बर्णबाट मानिसको ध्यान हटाउन आफुले डान्स र फाइटमा निकै मिहिनेत गरेको मिथुन बताउने गर्छन् । ‘म चाहान्थे उनिहरु मेरो रुप भन्दा पनि डान्स हेरुन् ।’ शौकिन, गुलामी, मुझे इन्साफ चाहिए, प्रेमबिवाह, प्रेमप्रतिज्ञा ,प्यारका मन्दिर आदि मिथुनका सफल चलचित्र हुन् । गायक, निर्माता, बिजनेसम्यान, समाजसेवी तथा राज्यसभा सदस्य रहि सकेका मिथुन कुकुरपाल्नमा निकै रुचि राख्छन् ।

कुनै बेला आफू भिलेनमात्र बन्न् सक्छु होला भन्ने ठानेका मिथुनले हिन्दी सिनेमामा करिब एक दशक राज गरेका छन् । कमिक पुस्तक जिम्मी जिकचक मिथुनको कथामा नै आधारित पुस्तक हो भने मिथुनको डान्स स्टेपको नक्कल विभिन्न कलाकारले अहिले पनि गर्दै आएका छन् । कलकत्ताको स्कटिश चर्च कलेजबाट केमेस्ट्रीमा स्नातक गरेका मिथुनको जन्म १६ जुन १९५० मा बरिसल, तत्कालीन पाकिस्तान र हालको बंगलादेशमा भएको थियो । कुनै समय नक्सलबादी आन्दोलनमा पनि लागेका मिथुन आफ्नो भाइको असामयिक मृत्युपछि सबै छोडेर मुम्बई लागेका थिए ।

सामाजिक संजालमा केही असामाजिक तत्वहरुले कोरोनाको कष्टमा समाजसेवाको नाममा गरिब र दिनदुखीहरु माथि जुन घटियास्तरको प्रहसन गरेका छन् तिनले मिथुन चक्रवर्तीबाट यति सिकुन् । फोहोरको थुप्रोमा गुटमुटाएर फालिएकी एक बालिकालाई उठाएर आफ्नो छोरी बनाएका मिथुन चक्रवर्ती ती कम मानिस अन्तर्गत पर्छन् जसले कयौं समाजसेवाको काम गरेका छन् तर गुपचुपरुपमा । दिशानी चक्रवर्ती नाम दिएर पालेकी मिथुन कि ति छोरी हाल फिल्म सम्बन्धी अध्ययन गरिरहेकी छिन् । यसको प्रसङ्ग मिथुनले कहिलै कतै उठाएको पढ्न पाइदैन। समाजसेवा बारे मिथुन चक्रवतीले भनेका छन् ‘यदि तपाई कसैलाई मद्धत गर्दै हुनुहुन्छ भने त्यसका लागि तामजाम जरुरी छैन । मान्छेलाई मद्धत गर्ने हो, त्यो जताउने विषय नै होइन ।’

Comments

Top