कोरोना कष्टः विश्वभर १ लाख ६५ हजारको मृत्यु, अमेरिकामा हालसम्म मृत्यु हुने ४० हजार नाघे

crying US

काठमाडाैं । अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या ४० हजार नाघेको छ। अमेरिकामा पछिल्ला दिनहरुमा लगातार २ हजार बढीले कोरोनाका कारण ज्यान गुमाइरहेका थिए । तर अघिल्लो २४ घन्टा र पछिल्लो २४ घन्टामा तुलनात्मक रुपमा मृत्युदरमा केही कम आएको छ । गत २४ घन्टामा विश्वभर ४ हजार ९ सय ७५ ले ज्यान गुमाएका थिए भने ७५ हजार ४ सय ६९ जना नयाँ संक्रमित देखिएका थिए । 

अघिल्लो २४ घन्टामा १ हजार ८ सय ६७ जनाले ज्यान गुमाएकामा पछिल्लो २४ घन्टामा भने १ हजार ५ सय ३४ ले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा हालसम्म ज्यान गुमाउनेको संख्या ४० हजार ५ सय ४८ पुगेको छ ।

वल्र्डोमिटरडटकमको अनुसार अमेरिकामा हालसम्म संक्रमित ७ लाख नाघेको छ। हालसम्म अमेरिकामा मात्रै ७ लाख ६४ हजार ३ सय ३ जना संक्रमित भएका छन् ।

हालसम्म विश्वभर २४ लाख ६ हजार २ सय ४० संक्रमित छन् भने १ लाख ६५ हजार ४ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकापछि सबैभन्दा बढी मानिसले इटालीमा ज्यान गुमाएका छन् । इटालीमा हालसम्म २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा इटालीमा ४ सय ३३ जनाको मात्र मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा हालसम्म २० हजार ४ सय ५३ जनाको मृत्यु भएको छ । स्पेनमा एक दिनमा ४ सय १० जनाको मृत्यु भएको जनाइएको छ ।

तुलनात्मक रुपमा युरोप एवं अमेरिकी राष्ट्रहरुमा कोरोनाको प्रभाव यसअघिभन्दा कम पर्दै जान थालेको देखिएको छ ।

 

Comments

Top