लकडाउन १५ दिन थप्ने तयारी, खुकुलो नहुने संकेत


lockdown kathmandu
काठमाडौं ।
सरकारले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले जेठ १० गतेसम्म लकडाउन बढाउनुपर्ने विषयमा छलफल भएको हो । पछिल्लो पटक वैशाख २५ गतेसम्म बढाइएको लकडाउनको म्याद फेरि पनि करिब २ हप्ताका लागि थप्न लागिएको हो ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्ने गरी म्याद थप गर्ने तयारी भइरहेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा समेत लकडाउनका विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गराउन गृहमन्त्री रामबहादुर थापा (बादल)लाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशन पछि गृहमन्त्री थापाले पनि कोरोना संक्रमण बढ्न नदिन लकडाउन नै प्रभावकारी विकल्प भएको र त्यसलाई कडाइका साथ पालना गरिने जनाएका थिए ।

 त्यस्तै कोरोना प्रभावित क्षेत्रहरुको वर्गीकरण गर्ने विषयमा पनि मन्त्रिपरिषद बैठकमा छलफल भएको थियो । संक्रमित देखिएको क्षेत्रलाई ‘ब्याक’, संक्रमण फैलिन सक्ने जोखिम रहेको क्षेत्रलाई रेड, संक्रमण फैलिन सक्ने, तर जोखिम व्यवस्थापन गर्न सकिने क्षेत्रलाई एल्लो र ग्रीन जोनमा विभाजन गरेर सोहीअनुसार लकडाउनलाई खुकुलो र थप कडाइ गर्ने विषयमा छलफल भएको थियो ।


नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित देखिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो । पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५, तेस्रो पटक वैशाख ३, चोथो पटक वैशाख १५ र पाँचौं पटक वैशाख २५ गतेसम्मका लागि थपिएको थियो ।

यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेर ७५ पुगेको छ । कोरोना संक्रमण देखिएका १६ जना उपचार पछि निको भएर घर फर्किएकामा २ जनामा पुनस् स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

Comments

Top