पूरा विश्व नै एक टिम भएर कोरोनाविरूद्ध जित हात पार्नुपर्छः एन्फा अध्यक्ष शेर्पा

karma

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो स्थापना दिवसमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरेन । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण नेपालमा पनि लकडाउन भएपछि एन्फाले आफ्नो स्थापना दिवसमा कुनै पनि औपचारिक कार्यक्रम नगरेको जनाएको छ ।

एन्फा दिवसका अवसरमा शुभकामना मन्तव्य दिँदै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले विश्व नै एक टिम भएको यस अवस्थामा कोरोनाविरुद्ध जित हात पार्नुपर्ने बताएका छन् ।

एन्फा दिवसका अवसरमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै सबै खेलाडी, जिल्ला फुटबल एसोसिएसन, क्लब, स्पोन्सर, दर्शक र सबै सर्वसाधारणमा एन्फा दिवसको शुभकामना दिए । उनले इतिहासमै पहिलोपटक गत वर्ष एन्फा दिवस मनाएको स्मरण गर्दै यस वर्ष पनि एन्फाले मनाउने योजना बनाएकोमा यस महामारीको अवस्थाले गर्दा मनाउन नपाएको बताए ।

‘तपाई हामी सुरक्षित र स्वस्थ्य रहेको खण्डमा हामीले पुनः मनाउन पाउनेछौं,’ अध्यक्ष शेर्पाले आप्mनो शुभकामना मन्तव्यमा भनेका छन् । साथै उनले सबैलाई घरमै बसेर सरकारले पालना गरेको नियममा बस्नका लागि अनुरोध पनि गरेका छन् ।

उनले जीवनको पहिलोपटक पूरा विश्व नै एउटै टिमबाट खेलीरहेको बताए । उनले पूरा बिश्वको विपक्षी भाइरस भएको र सबै विश्व मिलेर भाइरसविरुद्ध जित हात पार्नुपर्ने बताए ।

स्थापना मनाउन सुरु गरेको दोस्रो वर्षमै एन्फाले आफ्नो स्थापना दिवसमा कुनै कार्यक्रम गर्न नसक्ने अवस्था सिर्जना भएको हो । एन्फाले गत बर्षदेखि बैशाख २२ गते एन्फा दिवस मनाउन सुरु गरेको हो । सोही दिन एन्फाको वर्तमान कार्यसमिति निर्वाचित भएको थियो । स्थापना दिवसका अवसरमा एन्फाले फुटबल क्षेत्रमा लागेर योगदान गरेका विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आएको थियो ।

Comments

Top