त्रिशूलीमा एक जना आइसोलेशनमा, स्वाब परिक्षणको रिपोर्ट आउन बाँकी

Trishuli

 

नुवाकोट । विदुर नगरपालिकाका एक व्यक्तिलाई कोरोना भाइरससँग लक्षण देखिएकाले जिल्ला त्रिशूली अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । उनी एक महिनाअघि भारतको दार्जिलिङबाट विदुर फर्किएका थिए ।

अपराह्न ज्वरो आएर त्रिशूली अस्पताल पुगेका उनमा कोरोना संक्रमणको लक्षण बढी मिल्दोजुल्दो फेला परेपछि अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार थालिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए । बुधबार उनको स्वाब संकलन गरेर थप परीक्षणका लागि काठमाडौंँ पठाइएको छ । उनकोे स्वाब परीक्षणको प्रतिवेदन शुक्रबारसम्म आउने जनाइएको छ ।

यसअघि पनि नुवाकोटका दुई जनालाई त्रिशूली अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार गरिएको थियो । उनीहरुको स्वाब परीक्षणबाट भाइरसको संक्रमण नदेखिएपछि घर पठाइएको थियो । त्यस्तै नुवाकोटकै एक जनालाई काठमाडौंँमा आइसोलेशनमा राखिएकामा उनी पनि कोरोना भाइरसको संक्रमण फेला नपरेपछि घर फर्किसकेका छन् ।

Comments

Top