सरकार ! अहिलेका ‘हटस्पट’ भविष्यमा कोरोना संक्रमण फैलाउने ‘गेटवे’ नबनुन्

1_Article

 

नेपाल साँच्चै नै दुई ढुंगाको बीचको तरुल भन्नेमा कुनै द्विविधा छैन । फलस्वरुप उत्तरको छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना भाइरस अहिले दक्षिणी छिमेकी मुलुक भारतमा तीब्रतर गतिमा बढीरहेको तथ्यांक सार्वजनिक भइरहेको छ । सोही अनुरुप नेपालमा पनि पछिल्लो २४ घन्टामा घन्टाको एक जनाको दरले २४ जनामा कोरोना संक्रमण देखिएको तीतो यथार्थ सार्वजनिक भएको छ । पछिल्ला दिनमा दैनिक ४ हजारको हाराहारीमा नयाँ संक्रमित देखिएको भारत विश्वमै १२ औं स्थानमा आइपुगेको छ, जुन तथ्यांक अनि वास्तविकता नेपालका लागि सबैभन्दा घातक र कहालीलाग्दो बन्न सक्दछ ।

विगतका दिनमा लकडाउन ‘कडा’ गरेको बताएको सरकारलाई पछिल्लो संक्रमित व्यक्तिहरुको गतसातादेखि ‘हिस्ट्री’ ले पक्कै पनि सोचमग्न बनाएको हुनुपर्छ । संक्रमित मध्ये धेरै जसो भारतबाट ३ दिनदेखि एक साताअघि सम्म आएका देखिएका छन् । पछिल्ला दिनहरुमा सरकारले प्रत्यक्ष र खुल्ला रुपमा सीमानाका बन्द गरे पनि एउटा सलाई किन्न भारत जानुपर्ने अवस्था र बाध्यता नेपालीका लागि भारतीय सीमा कहिल्यै बन्द नहुने स्पष्ट नै छ ।

भारतसँगको खुल्ला सीमाको पटक–पटक प्रत्यक्ष मार भोगिरहेको नेपालले यस महामारीमा पुनः अभागी सावित भएको छ । दैनिक गुजारा चलाउनका लागि भारतमा गइ मजदुरी गर्नुपर्ने बाध्यतामा रहेका नेपालीले पुनः एकपटक भारतबाट बोकेर ल्याएको रोगका कारण संकट सामना गर्नुपरेको छ ।

विश्वमा बढ्दै गइरहेको संक्रमणका बेला कहिले अध्यादेश, कहिले सीमा अनि कहिले पार्टीको विवादमा अल्मलिएको नेपाली राजनीतिमा एउटा ‘जंगबहादुर’ को आवश्यकता देखिएको छ । जसले, देश अनि जनताको रक्षाका लागि पार्टी, परिवार, आफन्तलाई त्याग्न सकोस् । 


भौगोलिक सुगमता हो वा संक्रमणको सम्भावना बढी भएर हो सरकारले तराई भेगलाई केन्द्रीत गरेर गर्दै गरेको परिक्षण पनि सुस्त गतिमा देखिएको छ । भारतबाट तराई छिरेको कोरोना, तराईबाट पहाड झन् छिटो छिर्न सक्नेमा कुनै द्विविधा छैन । अहिलेसम्म तुलनात्मक रुपमा हो वा परिक्षण नै भएर हो नेपालको पहाडी क्षेत्रहरु अलिकति भए पनि सुरक्षित रहेको अवस्थामा लकडाउन कडा बनाउनुपर्ने अवस्था देखिन्छ ।


उदयपुरपछि कपिलवस्तुमा सरेको कोरोना भाइरसको आक्रमणले विस्तारै पर्सा, बर्दिया, रुपन्देही, सप्तरी जस्ता नयाँ जिल्लाहरुलाई त्रासमा पारेको छ । कपिलवस्तुमा पछिल्लो दिनमात्रै १६ जनामा संक्रमण देखिएको छ । विशेष गरेर सुदूरपश्चिमबाट सुरु भएको नेपालको कोरोना विस्तारै देशभर फैलने क्रममा छन् ।

कोरोना संक्रमणले वृद्धहरुलाई आक्रमण गर्ने हालसम्मको विश्वव्यापी मान्यतालाई नेपालका संक्रमितले चुनौती दिएका छन् । पछिल्ला दिनमा देखिएका संक्रमितमा सबैभन्दा उत्पादनशील उमेरका युवाहरुमा संक्रमण देखिनुले नेपाल विश्वभन्दा फरक अवस्था रहेको देखिन्छ । विश्वले आफ्ना ‘सिनियर’ नागरिक गुमाउँदै गर्दा नेपालमा भने उत्पादनशील उमेरका युवाहरु संक्रमित देखिनु नेपालको भविष्य खतराको सूचक बन्ने देखिन्छ। कपिलवस्तु र रुपन्देहीमा देखिएका २३ संक्रमितमा ४० वर्ष भन्दा तल उमेरका युवाहरु संक्रमित भएको देखिएको छ ।

भौगोलिक सुगमता हो वा संक्रमणको सम्भावना बढी भएर हो सरकारले तराई भेगलाई केन्द्रीत गरेर गर्दै गरेको परिक्षण पनि सुस्त गतिमा देखिएको छ । भारतबाट तराई छिरेको कोरोना, तराईबाट पहाड झन् छिटो छिर्न सक्नेमा कुनै द्विविधा छैन । अहिलेसम्म तुलनात्मक रुपमा हो वा परिक्षण नै भएर हो नेपालको पहाडी क्षेत्रहरु अलिकति भए पनि सुरक्षित रहेको अवस्थामा लकडाउन कडा बनाउनुपर्ने अवस्था देखिन्छ । नेपालमा संक्रमण सुरु नहुँदै स्वास्थ्य सामाग्रीको खरिद प्रक्रियामा विवादित बसेको सरकारले अहिले आफ्नो निहित स्वार्थको राजनीति गर्नुभन्दा जतिसक्दो धेरै परिक्षण सामाग्रीको व्यवस्था गरेर देशका पहाडी क्षेत्रमा पनि परिक्षणको दायरा बढाउनुपर्ने देखिन्छ । 


संक्रमणको जोखिम देखिएका क्षेत्रलाई ‘लक’ गर्नु वा बढी जोखिम क्षेत्रहरुको पहिचान गरि आवश्यक परेको खण्डमा कर्फ्यु नै लगाई परिक्षणको दायरा फराकिलो बनाउनु अहिलेको सरकारको प्रमुख दायित्व देखिएको छ, किनकी ती क्षेत्रहरु नै भविष्यका दिनमा देशका अन्य क्षेत्रमा संक्रमण फैलने ‘गेटवे’ नबनुन् ।


संक्रमण जोखिमको एउटा ‘बोर्डर लाइन’ निर्माण गरेर तत्कालीन कार्ययोजना बनाउनुपर्नेमा सरकार, प्रतिपक्षी एवं काम गर्न सक्ने समूह ‘लिपुलेक’मा विवादमा रुमलिएका छन् । सीमा विवाद भनेको सरकारको नेतृत्वले ‘विवादित’ नेतृत्वसँग नेतृत्व तहमै वार्ता गरेर समाधान गरिनुपर्दछ । उपत्यकाका सडकमा गरिएका आन्दोलनलाई निस्तेज पार्नका लागि सुरक्षाकर्मीको प्रयोग गर्नुको साटो भारतीय नेतृत्वसँग वार्ता गरेर यस विषयलाई जतिसक्दो छिटो समाधान गर्नु अहिलेको नेतृत्वको कर्तव्य हो । त्यस कर्तव्यबाट पछि हट्दै आफ्नो मातृभूमिको रक्षाका लागि कोरोनाको संक्रमणबीच सडकमा उत्रिएका राष्ट्रप्रेमीमाथि प्रहरीको लाठी बर्साउन आदेश दिनु उपयुक्त हुँदैन ।

प्रत्येक राष्ट्रवादी एवं राष्ट्रघाती घटनाक्रममा प्रत्यक्षरुपमा भारतसँग सरोकार राख्नुपर्ने बाध्यताका बीच बाँचिरहेको नेपाली परिवेश पुनः यस महामारीमा पनि भारत नै निर्णायक बन्ने निश्चित छ । अधिकांश संक्रमितहरु भारतबाटै नेपाल भित्रिएकामा देखिनु त्यसको ज्वलन्त उदाहरण हो भने भारतमा बढ्दै गएको महामारी नियन्त्रण नहुँदासम्म नेपालमा जोखिम कायमै रहने अर्को ‘तीतो सत्य’ पनि हो ।

सरकारले यस परिवेशमा सकेसम्म सीमानाकामा कडाई गर्दै अत्यावश्यक र नेपालमा उत्पादन नै नहुने वस्तुहरुमात्रको आयात खुल्ला राख्दै नेपालमै भएका उत्पादनहरुको बजारीकरणमा ध्यान दिनुपर्ने देखिन्छ । एकातिर उपत्यकाको कुनै कुनाका उत्पादन सडकमा मिल्काउनुपरेको अवस्था छ भने अर्कोतिर उपभोग्य सामाग्रीको नाममा भारतमा फैलिइरहेको कोरोना संक्रमणलाई सीमाको ढोका खोलिएको देखिएको छ ।

विश्वपरिवेशलाई हेर्दा जर्मनीमा लकडाउन अलिकति खुल्ला गरेको भोलीपल्टैदेखि संक्रमितको संख्या अत्याधिक बढ्नु र नेपालमा पनि अघोषित रुपमा लकडाउन खुल्ला हुनेवित्तिकै एक्कासी संक्रमित बढ्नुमा संयोगमात्र हुनसक्छ । त्यसैले जतिसक्दो छिटो संक्रमणको जोखिम देखिएका क्षेत्रलाई ‘लक’ गर्नु वा बढी जोखिम क्षेत्रहरुको पहिचान गरि आवश्यक परेको खण्डमा कर्फ्यु नै लगाई परिक्षणको दायरा फराकिलो बनाउनु अहिलेको सरकारको प्रमुख दायित्व देखिएको छ, किनकी ती क्षेत्रहरु नै भविष्यका दिनमा देशका अन्य क्षेत्रमा संक्रमण फैलने ‘गेटवे’ नबनुन् ।

Comments

Top