शहरमा भएको श्रीमानलाई गाउँबाट श्रीमतीको पत्र !

manju

 

प्रिय मेरो हजुर !

आराम रही हजुर पनि आरामै हुनुहोला भन्ने सतौंकालीसँग प्रार्थना गर्दछु ।

प्रिय हजुर, आजभोली नियास्रो लाग्दैछ, दिनपछि रात आउने समय कुर्दै बसेकी मलाई हरेक रात महिनौं जस्तो लाग्छ । हजुरलाई राती सपनीमै भएनि देख्न पाउँछु कि भनेर बेलैमा घरधन्दा सकेर ओछ्यानमा गए पनि निद्राले साथ दिँदैन, मनमा अनेक कुरा खेल्छन् । भित्तामा टाँसिएको घडी पटक्कै घुम्दैन । म आजभोलि निकै दुःखी छु, कयौं हेर्दाहेर्दै समयले कोल्टे फेर्न सकेन ।

आज ५५ दिनको लकडाउन काटिएको भएपनि बर्षौं जस्तो लागिसक्यो । कोरोनाको डर हराउने कुनै संकेत नै देखिएन झनभन्दा झन् यो उर्लिरहेको छ।

सबै हामी नेपालीको खुशीमा दाग लागिसकेको छ, विदेशिएका हजारौं हजार नेपाली उतै दुःखित छन्। कोही सिमामा हप्तौंदेखि नेपाल छिर्ने आशामा बसिरहेका छन् । हजुर पनि मेरो अनि घर परिवारको खुशीमा खुशी दिन शहर पस्नु भएको थियो । खै, चैत बैशाखतिर आउँछु भन्नुभएको थियो, यो पनि भनाइमा मात्र साबित भयो।

आज सिङगो देश नै लडाइँको मैदानमा रोगसँग लडिरहेको छ। झनभन्दा झन् अदृश्य शक्ति बढिरहेको छ । बिचरा ती नाबालकको के नै दोष थियो होला र ? जसले नाम पनि नपाउँदै आमा गुमाउनुपर्यो, उनकी आमाको के दोष थियो र तैपनि यस संसारबाट टपक्क टिपेर लग्यो । ए हजुर सबैतिर यसको चर्चा छ, समाचार, सामाजिक संजालमा यस महामारी रुपी शत्रुको मात्र चर्चा छ के गर्नु ? विश्वनै सिकिस्त भैसक्यो।

लाखौंले आफ्नो सम्पत्ति गुमाए, शरीर गुमाए, आफन्त गुमाए, के गर्नु सारा दुनियाँको आँशुको भेल बगिरहेको छ तर पापी भाइरसको अन्त्य नै भएन। भो, अब न सम्पत्तिको माया न मेरो जीवनको, रहरले होइन आज मलाई बाध्यताले झस्काइरहेको छ। महंगीले छोइसक्यो, कालोबजारीले बजार ओगटीसक्यो, पलपल हजुरको यादमा दिनरात गहभरि आँखामा आँशु भर्दै हजुर आउन पाउने दिनको पर्खाइमा बस्दैछु।

खेतबारी बाँझो छ, खाने कुरा सकिन लाग्यो, बाबू नानीले बाबा खोइ भनेर सोध्दा हजुरकै तस्बिर देखाएर भुलाउन खोज्छु, अनि उनीहरुलाई हजुरको तस्बिर देखाउने बहानामा मै पनि त्यही तस्बिर हेरेर आँशु लुकाउन खोज्छु, अनि उनीहरूसँगै रमाउन खोजे जस्तो गर्छु।

आँखा भरिएर आउँछ, मनभित्रको पीडा आगोसरि सल्किन्छ। तै पनि के गर्नु जहाँ हुनुहुन्छ खुशी रहनु, आराम रहनु, एकान्तको बासमा रहनु, सकेसम्म घरमै रहनु, २÷४ दिन तरकारी लिन नि जानु पर्दैन, सहर जाने बेला हजुरको मैले झोलामा राखिदिएको गुन्द्रुक, मस्यौरा होला, मीठो नमीठो जस्तो भएपनि त्यसैसँग खानु। अनि यो कुरा सम्झिरहनु पटक– पटक साबुनपानीले हात सफा गरिरहनु ।

उहीँ हजुरकै पर्खाइमा रहेकी श्रीमती

Comments

Top