चितवनका संक्रमित श्रीमान् श्रीमती नै, उनीहरू क्यान्सरको उपचार गरी भारतबाट फर्किएका थिए

chitwan

चितवन । चितवनमा आज (शुक्रबार) थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका–६, गीतानगर (केशरबाग) निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु श्रीमान् र श्रीमती हुन् । उनीहरु दुई साता अघि भारतबाट आएको खुलेको छ ।

क्यान्सर रोगको उपचार गर्नका लागि उनीहरु भारत गएको खुलेको छ । उनीहरुलाई अहिले भरतपुर ल्याईएको छ । उनीहरु भारतबाट आएपछि घरमै क्वारेन्टिनमा बसेको बुझिएको छ ।

त्यस्तै नवलपुरका विनयी त्रिवेणी गाउँपालिकाका ४५ वर्षीय पुरूषलाइ पनि अहिले भरतपुरस्थित कोरोना उपचार अस्पतालमा ल्याइएको जनाइएको छ ।

यसअघि शुक्रबार नै स्वास्थ्य मन्त्रालयले जनाएअनुसार नवलपरासीमा ४, चितवनमा २, कपिलवस्तुमा ९, सर्लाहीमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

यससँगै नेपालमा ४८७ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ३ जनाको मृत्यु भएको छ भने ४९ जना उपचार निको भइ घर फर्केका छन् ।

 

 

Comments

Top