‘निर्मला काण्ड’मा लागेको दाग ‘नवराज काण्ड’मा के होला ?

police_1

 

नेपाल प्रहरी । जनताको माझ सबैभन्दा सहज पहुँच भएको संगठन वा निकाय । अनि देशमा घटेका हरेक घटना अनि परिघटनाको पहिलो नम्बरको साक्षी संगठन । देशको गहन जिम्मेवारीका साथ अघि बढीरहेको संगठनमा बेलाबखत विभिन्न किसिमका आँच आउनु अन्यथा त पक्कै पनि होइन, तर लागेको दाग मेटाउने प्रयासमा जहिल्यै अर्को अझै गहिरो दाग लागिरहने संगठन ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिनपछि नतिजा दिन नसकेको नेपाल प्रहरीका लागि करिब २ वर्षपछि अर्को घटनाले चुनौती दिएको छ । प्रहरी अधिकारीहरु नै अनुसन्धानमा परिरहेको ‘निर्मला काण्ड’मा नेपाल प्रहरी पटक–पटक असफलसिद्ध भएको स्पष्ट नै छ । विगतमा निर्मला पन्तको न्यायका लागि अनेकौं लडाईहरु लडिरहेका परिवारजन र सुदूरपश्चिमबासीका लागि नेपाल प्रहरीले अहिलेसम्म विश्वसनीयता कायम गर्न सकेको छैन । तत्कालिन नेतृत्वले विभिन्न फरक फरक व्यक्तिहरुलाई अनुसन्धानको बागडोर दिएर पठाए पनि ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखान चरितार्थ बनेको छ, हालसम्म जनअपेक्षित वा आफैं पनि वास्तविकतामा पुग्न नसकेको संगठनमा पुनः अर्को ‘संकट’ देखा परेको छ, रुकुम घटनाकाण्ड ।

नवराज विक, कथित तल्लो जातीका दलित । जसले आफ्नो ३ वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्ने ‘चाह’का साथ हुनेवाली श्रीमतीको अनुरोधमा ‘जन्ती’ लिएर लिन गएका बेला ५ जना साथीसहित भेरीको पानीमा अन्तिम सास लिए, त्यस घटनाको वास्तविकता जनता सामू ल्याउन प्रहरीबाहेक अन्य निकायको पहुँच पक्कै पनि देखिँदैन ।


जनप्रतिनिधि लगायत त्यस घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनु प्रहरीको प्रमुख दायित्व हो । तर, प्रहरीले अर्को कुरामा पनि चुक्नु हुँदैन भने त्यस घटनाकी प्रमुख कारक युवतीका बारेमा प्रहरी चनाखो हुनुपर्दछ । किनकी उनीहरुबीच निस्वार्थ प्रेम रहेको भए उनले प्रहरी नियन्त्रणमै रहेको अवस्थामा पनि कुनै अप्रिय घटना नघटाउलिन् भन्न सकिँदैन । 


 

सयौं गाउँलेले प्रहरीकै अगाडि उनीहरुलाई लखेट्दै, कुट्दै चौघेरामा पारी भेरी नदिमा पस्न बाध्य तुल्याएको स्थानीय र सञ्चारमाध्यमहरुले जनाइरहेका छन् । जनप्रतिनिधि लगायत त्यस घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनु प्रहरीको प्रमुख दायित्व हो । तर, प्रहरीले अर्को कुरामा पनि चुक्नु हुँदैन भने त्यस घटनाकी प्रमुख कारक युवतीका बारेमा प्रहरी चनाखो हुनुपर्दछ । किनकी उनीहरुबीच निस्वार्थ प्रेम रहेको भए उनले प्रहरी नियन्त्रणमै रहेको अवस्थामा पनि कुनै अप्रिय घटना नघटाउलिन् भन्न सकिँदैन । अथवा सञ्चारमाध्यममा आएका समाचारअनुसार उनले ‘एक्लै’ नआउनु भनेका भए अवश्य पनि उनले प्रेमी नवराजप्रतिको माया दर्शाएकी हुनसक्छिन् । पटक–पटक कुटपिट सहेको भनिएका नवराजले जुन जस्तो परिस्थितिमा भए पनि ती युवतीप्रतिको प्रेमलाई त्याग्न नसक्नु नै उनको मृत्युको कारक बनेको देखिएको छ ।

सयौं गाउँलेहरुले ‘जन्ती’लाई ‘लाश’ वा ‘मलामी’ का रुपमा परिणत गर्दैगर्दा सबैभन्दा भरपर्दो र विश्वासिलो साक्षी बनेको प्रहरीले सत्यलाई सत्य भन्ने आँट गर्नुपर्छ । त्यस घटनामा स्थानीय वा बाहिरबाट आएकाहरुको पक्ष लिनु भन्दा पनि वास्तविकता अनुसन्धान गर्ने प्रहरीभन्दा अन्य कुनै निकाय आधिकारिक एवं भरपर्दो मान्ने देखिँदैन । सामाजिक कूसंस्कारले ग्रसित यस घटनामा कथित ‘तल्लो जात’ र ‘माथिल्लो जात’ बीचको खाडलमा प्रहरी पुल बन्नुपर्ने देखिन्छ । २० जनालाई अनुसन्धानको दायरामा तानेको प्रहरीले त्यस घटनासँग सम्बन्धित अन्य मानिसहरुको संलग्नताको बारेमा पनि अनुसन्धान गर्नु जरुरी देखिन्छ । अनुसन्धानमा केही राजनीतिक नेतृत्वबाट प्रभावित तुल्याउसक्ने समाचार आइरहेका बेला त्यसको सामना गर्नु पनि प्रहरीलाई ठूलै सकस पर्नसक्ने देखिन्छ ।

हुन त, वर्तमान नेतृत्वको समयावधिको घडी ‘उल्टो’ घुमिरहेको छ । वर्तमान नेतृत्वलाई डेढवर्ष अघिदेखि घटेको ‘निर्मला कान्ड’, भर्खरैको ‘नवराज काण्ड’को वास्तविकता ल्याउने भन्दा पनि बाँकी डेढ महिना कसरी बिताउने भन्ने चिन्ता अर्कोतिर हुनु अवश्य पनि नाजायज होइन । विवादरहित तवरले नेतृत्वमा आएका वर्तमान प्रहरी महानिरीक्षकलाई विवादरहित बनेरै संगठनबाट अवकाश लिनु पनि अर्को एक चुनौती छ, तर छोटै अवधिका लागि भए पनि नेतृत्वमा आएका उनले लामोसमयदेखि अन्यौलमै रहेको निर्मला काण्ड र सामाजिक कूसंस्कारका कारण घटेको ‘नवराज काण्ड’ का दोषीलाई कठघरामा उभ्याएर पीडितलाई न्याय दिएर बिदाई हुने अवसर पनि छ ।

छोटो समयको नेतृत्वमा विगतका नेतृत्ववर्गले गर्दै आएको कर्मलाई फलोअप गर्नुभन्दा पनि सरल र संयम तरिकाले कार्यकाल व्यतित गर्नु जायज देखिन्छ । आकांक्षीहरुले ‘खेल्न’ थालेको र दिन गनिरहेको समाचार सञ्चारमाध्यममा आइरहेका बेला आफ्नो नेतृत्वमा रहेको संगठनले सदियौंदेखि चलिआएको कू–संस्कारविरुद्ध सत्यतथ्य पत्ता लगाउनु उनको दायित्व हुन्छ । त्यसैले छोटै अवधिका लागि भए पनि उनले सम्हालेको कमाण्डले ‘निर्मला काण्ड’मा लागेको संगठनको दाग ‘नवराज काण्ड’मा केही हदसम्म भए पनि हटाउने प्रयास गर्नुपर्दछ ।

Comments

Top