अभिनेत्री मनिषा कोइराला बेलहिया नाका हुँदै नेपालमा

Manisha

भैरहवा । चलचित्र अभिनेत्री मनिषा कोइराला मंगलबार दिउँसो रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्दै राजधानी तर्फ लागेकी छिन् ।

अभिनेत्री कोइराला परिवारका सदस्यसहित बेलहिया नाकाबाट नेपाल प्रवेश गर्दै सिधै काठमाडौं पुगेको जनाइएको छ । उनीसँगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ ।

भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनको परिवारको स्वास्थ्य परीक्षण गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन ।’

नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले सेनालाई अभिनेत्री कोइरालासहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको तर उहाँहरु काठमाडौँ प्रस्थान गरेको सूचना भने पाएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गरेका थिए ।

नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा उनको प्रशंसा भइरहेको छ । नेपाली राजनीतिको शिखरमा रहेको कोइराला परिवारकी सदस्य मनिषा कोइराला विगत लामो समयदेखि भारतीय चलचित्र उद्योगमार्फत् विश्वका अरबौं दर्शकमाझ आफ्नो छाप छाड्न अभिनेत्री हुन् ।

Comments

Top