होटलमा भेला भएर जुवा खेल्ने हाइप्रोफाइल जुवाडे धरौटीमा छुटे

CDO KTM

 

काठमाडौं । राजधानीको दरबारमार्गबाट सोमबार बेलुका जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका ९ जना हाइप्रोफाइल जुवाडे शुक्रबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीहरुलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

उनीहरुमध्ये ८ जनासँग ३० हजार रुपैयाँ धरौटी मागिएको छ भने १ जनासँग ४० हजार मागिएको छ । महानगरीय प्रहरी वृत्त, होटल गगौंरबाट रामचन्द्र सांघाई, अशोक अग्रवाल, सुरेश अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल आउजा, विमल खेतान, र निक्की जोगाईलाई प्रहरीले पक्राउ गरेको थियो ।


पक्राउ परेका मध्ये अशोक अग्रवाल गिनीको अवैतनिक दूत भएकाले उनीसँग थप १० हजार रुपैयाँ धरौटी मागिएको छ । उनी सार्वजनिक ओहदामा भएकाले थप धरौटी मागिएको हो ।

उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो भने जुवा खेल्न प्रयोग भएको एक सय ७९ वटा सिक्का पनि बरामद भएको थियो । उनीहरुले क्यासिनो शैलीमा जुवा खेल्ने गरेका थिए । जसमा करोडौंको खेल हुने गरेको प्रहरीको निष्कर्ष थियो । तर उनीहरुलाई ३० हजार मात्र धरौटीमा छाडिएको छ ।

 

Comments

Top