डब्लुएचओलाई कोरोना अफाप सिद्ध, अमेरिकासँगै ब्राजिल पनि बाहिरिने सम्भावना !

brazil_president

ब्राजिल । कोरोना भाइरसका कारण सबैभन्दा धेरै संक्रमित र मृतक भएको राष्ट्र अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको करिब दुईसाता पछि दोस्रो धेरै संक्रमित ब्राजिलले पनि डब्लुएचओबाट बाहिरिने चेतावनी दिएको छ । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश बाहिरिने चेतावनी दिएका हुन् । उनले डब्लुएचओलाई राजनीतिक प्रभावमा परेर त्यस्तै प्रकारको भूमिका खेल्न लागेको आरोप पनि लगाएका छन् ।

राष्ट्रपति बोल्सोनारोले देशमा लकडाउन खुल्ला गरेकोमा डब्लुएचओले असहमति जनाउदै गलत भएको टिप्पणी गरेपछि यस्तो चेनावनी दिएका हुन् । लकडाउन खुल्ला गरेकाले ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या अत्याधिक बृद्धि भएको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको थियो ।

डब्लुएचओले सामाजिक दुरी कायम राख्ने कुरालाई बढी ख्याल गर्न पनि ब्राजिललाई आग्रह गरेको थियो । तर यस विषयमा राष्ट्रपति बोल्सोनारोले लामो समयदेखि असहमति राख्दै आएका छन् ।
उनको यही असहमति र फरक मतका कारण तत्कालिन स्वास्थ्य मन्त्रीलाई पनि बर्खास्त गरेका थिए । मन्त्रीले लकडाउन लगाउने चाहने तर राष्ट्रपति बोल्सोनारोले भने लकडाउन लगाउन नहुने भनेकाले ती मन्त्री बर्खास्तीमा परेका हुन् ।

लकडाउन खुकुलो बनाएकै कारणले ब्राजिल अहिले अरु धेरै देशहरुलाई समेत उछिनेर कोरोना भाइरसबाट संक्रमित हुने दोस्रो धेरै संख्या रहेको देशमा पुगेको छ । पछिल्लो विवरण अनुसार ब्राजिलमा अहिलेसम्म ६ लाख ४६ हजार ६ जना सङ्क्रमित भएका छन् भने, ३५ हजार ४७ जनाको मृत्यु भइसकेको छ ।

सवैभन्दा धेरै संक्रमित र मानवीय क्षति भएको संयुक्त राज्य अमेरिकाले पनि यसअघि नै डब्लुएचओबाट बाहिरिने घोषणा गरेको थियो भने डब्लुएचओलाई दिदै आएको सहयोग कटौती गरेको थियो । मेरिकाको निर्णय आएको केही हप्तापछि दोस्रो धेरै संक्रमित र मानवीय क्षति भोगेको ब्राजिलले पनि उस्तै चेतावनी दिएपछि विश्वभरी नै नयाँ तरंग सृजना गरेको छ ।

Comments

Top